२०८३ भाद्र २३, मंगलवार ०८:२६

रसुवाको भोटेकोशी बाढी तथा विपत्तिमा अभिभावक गुमाएका १० जना छात्रको कक्षा ८ देखि १२ सम्मको सम्पूर्ण शैक्षिक दायित्व लिने महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयले घोषणा गरेको छ ।

सरकारले रसुवा बाढी तथा प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूको सम्झनामा सोमबार आयोजना गरेको राष्ट्रिय शोक दिवसका अवसरमा विद्यालयले यस्तो घोषणा गरेको हो । विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेलले वक्तव्य जारी गर्दै विपत्तिका कारण धेरै बालबालिका अभिभावकविहीन भएको भन्दै उनीहरूको शिक्षा र भविष्य सुनिश्चित गर्नु सामूहिक मानवीय दायित्व रहेको बताए । विद्यालयले अभिभावक गुमाएका १० जना छात्रलाई विद्यालयमा भर्ना गरी कक्षा ८ देखि १२ सम्मको शिक्षा, आवश्यक शैक्षिक सामग्रीलगायत सम्पूर्ण शैक्षिक दायित्व ग्रहण गर्ने जनाएको छ ।

विद्यालयले विद्यार्थीलाई शिक्षा प्रदान गर्ने मात्र नभई उनीहरूको भविष्य निर्माणमा अभिभावकीय भूमिका र आत्मीयता प्रदान गर्ने प्रयास गरिने जनाएको छ । प्रधानाध्यापक पौडेलले विपत्तिबाट प्रभावित बालबालिका भविष्यमा देशका सक्षम नागरिक बन्न सक्ने भएकाले उनीहरूको हातमा कलम र आँखामा भविष्यको सपना जगाउनु आवश्यक रहेको बताए । उनले विपत्तिको समयमा सबैले आफ्नो क्षमता र सामथ्र्यअनुसार प्रभावित बालबालिकाको भविष्य निर्माणमा सहयोग गर्नुपर्नेमा जोड दिँदै यस अभियानमा सहकार्यका लागि सबैलाई आह्वान गरेका छन् ।

मटिहानी नगरपालिका–७ मा रहेको राजकीय संस्कृत माध्यमिक विद्यालय विसं १७५० मा सेन वंशको समयमा स्थापना भएको र नेपालकै पहिलो गुरुकुलका रूपमा परिचित छन् । विद्यालयले एक बालकको शिक्षा जोगाउनु एउटा परिवारको भविष्य जोगाउनु सरह भएको उल्लेख गर्दै रसुवा विपत्तिबाट अभिभावकविहीन बनेका १० छात्रको शिक्षा र भविष्य निर्माणमा आफूहरू सहयात्री बन्ने प्रतिबद्धता जनाएको छ ।

यसैबीच, विद्यालयले रसुवाको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा प्रभावित सबैमा धैर्य र शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ ।

Comment

Related News

Latest News

Trending News