२०८३ भाद्र २३, मंगलवार ०९:३३

त्रिशूली तथा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि जनकपुरधाम सुनचाँदी व्यवसायी संघले राहत रकम तथा सामग्री हस्तान्तरण गरेको छ ।

संघले व्यवसायीहरूबाट संकलन गरेको ३ लाख १ हजार रुपैयाँ नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ मधेसका अध्यक्ष पवन ठाकुरलाई हस्तान्तरण गरेको हो । त्यसैगरी २ सय १ थान ट्र्याकसुट जनकपुरधाम उद्योग वाणिज्य संघ र ५१ थान कुकर सहजीकरण अभियानका संयोजक अम्बुप्रसाद साहलाई प्रदान गरिएको संघका अध्यक्ष राजीव साह चन्दनले जानकारी दिए ।

राहत हस्तान्तरण गर्दै अध्यक्ष चन्दनले बाढी तथा विपद्का कारण व्यवसायसमेत प्रभावित र ठप्प रहेको अवस्थामा पीडितको दुःखमा साथ दिन व्यवसायीहरूले आफ्नो क्षमताअनुसार सहयोग जुटाएको बताए ।

उनले तत्कालीन राहतसँगै बाढी प्रभावित क्षेत्रमा पुनःस्थापना र पुनर्निर्माणको काम पनि उत्तिकै महत्वपूर्ण रहेकाले आगामी दिनमा त्यसका लागि समेत सहयोग गर्न संघ तयार रहेको बताए ।

बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा पीडितलाई सहयोग गर्नु सामाजिक दायित्व भएको भन्दै संघले आवश्यकताअनुसार राहत तथा सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Comment

Related News

Latest News

Trending News