२०८३ भाद्र २६, शुक्रबार ०७:१२

राज्य सत्ताको शोषण दमनविरुद्ध संघर्ष गर्दै मधेशी जनतालाई अधिकार सम्पन्न बनाउन मधेशकै लागि समर्पित रहने संकल्प मधेशवादी दलसँग आबद्ध नेताहरुले गरेका छन् ।

बिहीवार जनकपुरधाममा शहीद संजय चौधरी स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘मधेश : अबकी राह’ विषयक संवाद श्रृंखला कार्यक्रममा बोल्ने वक्ताहरुले मधेशलाई अधिकार सम्पन्न बनाउन आफ्नो अघिल्लो कदम मधेशका लागि समर्पित गर्ने संकल्प गरेका हुन् ।

कार्यक्रममा जसपा नेपालका नेता एवं जनकपुरधाम उपमहानगरपालिकाका पूर्व मेयर लालकिशोर साहले मधेश र मधेशी जनताप्रति राणा शासन कालदेखि हालसम्म राज्य सत्ता संचालकर्ताको शोषण दमनसहितका वक्रदृष्टि रहेको आरोप लगाए । उनले भने राणा शासन कालमात्रै होइन बहुदल आएदेखि संविधान निर्माणसम्मको मधेशी जनतालाई दबाउने गरी गरिएको शोषण दमनविरुद्धकै उपज थियो मधेश आन्दोलन । मधेशीलाई अधिकारबाट वञ्चित गर्न यही कांग्रेस, एमाले र माओवादी सहितका दलले अन्तरिम संविधानबाट संघीयता भन्ने शब्द हटाएपछि विद्रोह भएर मधेश आन्दोलन भएको थियो । हिजोपनि राज्य सत्ताले देशमा संघीयता चाहेको थिएन र आजपनि सत्तारुढ दल रास्वपा पार्टीले मधेशीलाई अधिकार सम्पन्न बनाउने संघीयतालाई समाप्त पार्ने खेलमा लागेको छ ।

रास्वपाप्रति आक्रोश व्यक्त गर्दै नेता साहले भने २०७९ सालकै निर्वाचनमा रास्वपाको एजेण्डा संघीयता समाप्त पार्ने थियो । तर त्यो बेला नसकेपछि सरकारमा झण्डै दुई तिहाईको बहुमत पाएपछि संघीयता समाप्त पार्न आफ्नो महाधिवेशनबाटै संघीयतालाई समाप्त पार्ने खालका निर्णय गरेका छन् । उनले संघीयता कसैको दयाकृपाबाट देशमा नआएको स्पष्ट पार्दै भने यो संघीयता देशमा त्यसै आएको होइन, संजय चौधरी जस्ता सयौं मधेशी जनताले छातीमा गोली खाएर ल्याएको हो ।

यसलाई कसैले समाप्त पार्ने सोच बनाएको छ भने त्यो तिनीहरुको दिवास्वपन हो । संघीयता समाप्त पार्न सरकार वा रास्वपाबाट कुनै कदम चालियो भने देशमा अर्को जनविद्रोहको अवस्था आउने चेतावनी दिए । नेता साहले शहीदलाई उचित सम्मान कसैले गरेको हो भन्ने त्यो मधेशवादी दल नै हो । मधेश प्रदेश सरकार बनेपछि नै शहीदलाई उचित सम्मान दिइयो । जसको उदाहरण जनकपुरधाममा निर्माण गरिएको शहीद गेट हो । साथै उनले संघीय सरकारमा गएर मधेशवादी दलले ठूलो गलती गरेको आरोप समेत लगाए ।

कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टीका नेता डा. विजयकुमार सिंहले भने पनि देशमा संघीयता ल्याउनेमा मधेशवादी दलको ठूलो भूमिका पार्दै आफू भित्रको आन्तरिक विवादले वर्तमान अवस्था आएको गुनासो गरे । उनले पनि रास्वपाको महाधिवेशनबाट संघीयतालाई समाप्त पार्ने गरी गरिएको निर्णयप्रति विरोध जनाए । उनले अब युवाहरुलाई मधेश र देश बनाउनेतर्फ लाग्नुपर्ने बताए । कार्यक्रममा नेता रमण पाण्डे र संजय चौधरी लगायतका वक्ताहरुले पनि आ आफ्ना धारणा राखेका थिए ।

Comment

Related News