मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादव जलवायु परिवर्तनका कारण मधेशले भोग्दै आएका चुनौती तथा अनुकूलनका सम्भावनाबारे अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान गर्न फिलिपिन्सको राजधानी मनिलातर्फ प्रस्थान गरेका छन् ।
नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ भदौ २५ गतेको निर्णयअनुसार उनीसंगै कृषि निर्देशनालयका निर्देशक जितेन्द्र यादव
आगामी भदौ ३० र ३१ गते ९सेप्टेम्बर १५ र १६० मनिलामा आयोजना हुने ‘थर्ड क्लाइमेट एडप्टेसन इन्भेस्टमेन्ट प्लानिङ फोरम–२०२६ ९ऋब्क्ष्एद्दण्द्दट०’ मा सहभागी हुनेछन् ।
गएराति थाइ एयरबाट मनिला प्रस्थान गरेका मुख्यमन्त्री यादव र निर्देशक यादवको भ्रमणबाट नेपाल सरकार तथा प्रदेश सरकारलाई थप आर्थिक दायित्व नपर्ने बताइएको छ ।
जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये मधेश पनि एक हो । बर्सेनि हुने बाढी र डुबानसँगै पछिल्ला वर्षमा बढ्दो सुख्खा, कृषि उत्पादनमा आएको अस्थिरता, भूमिगत पानीको समस्या तथा अत्यधिक गर्मीले प्रदेशको अर्थतन्त्र र जनजीवनमा चुनौती थपिरहेको छ ।
यस्तो अवस्थामा अन्तर्राष्ट्रिय मञ्चमा मधेशका वास्तविक जलवायु जोखिम, अनुकूलनका प्राथमिकता तथा लगानीको आवश्यकता प्रस्तुत गर्नु भ्रमणको महत्वपूर्ण पक्षका रूपमा हेरिएको छ । विशेषगरी जलवायुजन्य विपद् न्यूनीकरणसँगै कृषि, खानेपानी, सिँचाइ, पूर्वाधार तथा दिगो विकासका क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी र सहकार्य जुटाउन यस्ता फोरम उपयोगी हुन सक्छन् ।
नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्रशेखर कुमार यादवका अनुसार, भ्रमणका क्रममा जलवायु परिवर्तनका कारण मधेशले भोगिरहेका बाढी, डुबान, सुख्खा लगायतका जोखिम न्यूनीकरण, अनुकूलन र लगानीका अवसरबारे अन्तर्राष्ट्रियस्तरमा अनुभव आदान–प्रदान हुनेछ ।
उनले जलवायु अनुकूलनका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य र लगानीमार्फत मधेशलाई थप सुरक्षित, दिगो र समृद्ध बनाउने प्रयासलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।
विशेषगरी जलवायु परिवर्तनलाई केवल विपद्को विषयका रूपमा नभई लगानी, पूर्वाधार विकास र कृषि रूपान्तरणसँग जोडेर अघि बढाउन सके मधेशले दीर्घकालीन लाभ लिन सक्ने देखिन्छ । त्यसका लागि अन्तर्राष्ट्रिय मञ्चमा सहभागिता मात्र नभई सम्मेलनबाट प्राप्त ज्ञान, सहकार्य र लगानीका सम्भावनालाई प्रदेशमा व्यवहारिक रूपमा कार्यान्वयन गर्नुपर्ने चुनौती भने सरकारसामु रहनेछ ।


