वीरगञ्ज महानगरपालिका मेयर राजेशमान सिंहलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार सिंहलाई सफाइ दिने फैसला सुनाएका छन् ।
झूट्ठा कागजात पेश गरी नागरिकता दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर सिंहसहित ७ जनाविरुद्ध २५ जेठमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अर्कैकी छोरीलाई आफ्नो भनी कागजात बनाएर नागरिकता दिलाएको आरोपमा सिंहसहितलाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । आयोगले सिंहको छोरी बनी नागरिकता लिएको भन्दै सिन्धुपाल्चोककी रिता भट्टराईविरुद्ध पनि मुद्दा दायर गरेको थियो ।
वीरगञ्ज–३ का तत्कालीन वडा सचिव भिखारी राय र तत्कालीन कार्यवाहक वडाध्यक्ष तुफैल अख्तर ठकुराईविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको थियो । त्यस्तै गृह मन्त्रालयको छानबिन समितिका संयोजक र सदस्य तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेललाई पनि अख्तियारले प्रतिवादी बनाएको थियो । मेयर सिंहविरुद्ध पर्सा जिल्ला अदालतमा २ वटा कसुरमा मुद्दा विचाराधीन छ ।


