२०८३ भाद्र ३१, बुधबार ०७:२६

चाडपर्व नजिकिँदै जाँदा नक्कली रुपैयाँको बिगबिगी बढेको छ । विगतमा मधेश प्रदेशको सर्लाही, रौतहटलगायतका जिल्लाबाट नक्कली रुपैयाँको कारोबार हुँदै आए पनि यसपटक भने धनुषाको खुला सीमा नाकाबाट नक्कली भारतीय रुपैयाँको नोटको कारोबार हुने गरेको पाइएको छ । तर चाडपर्व अघिदेखि नै प्रहरीको सक्रियताका कारण सीमावर्ती क्षेत्र अवस्थित भारततर्फ नै एकै परिवारका दुई जनासहित तीनजनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

नक्कली भारतीय मुद्रा (भारु) कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’लाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल–भारत खुला सीमाबाट धनुषाको बिदेह गाउँपालिका वडा नम्बर १ मा पर्ने दुहबी दशगजा क्षेत्रबाट सोमबार राति करिब पौने १२ बजे उनलाई भारतीय सुरक्षा निकायले पक्राउ गरेको छ । धनुषा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले दशगजा क्षेत्रबाट एक नेपाली महिलालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरेका छन् ।

आरोपितहरुलाई दशगजाबाट पक्राउ परेको जानकारी भए पनि औपचारिक रुपमा भने जिल्ला प्रहरी कार्यालय धनुषालाई जानकारी नभएसमेत उनले प्रस्ट्याए । उनलाई धनुषाको बिदेह नगरपालिका– दुहवी निवासी हिरादेवी महासेठलाई भारतीय प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । हिरादेवीका पति भरत महासेठ यस अघि नै भारतको बिहारमा नक्कली भारतीय रुपैयाँसहित पक्राउ परिसकेका छन् । भारतीय अनुसन्धान अधिकारीहरूले भरतसँग जोडिएको नक्कली नोट कारोबारको ‘नेक्सस’कै आधारमा हिरादेवीमाथि पनि अनुसन्धान अघि बढाइएको बताएका छन् । करिब एक महिना अघि भारत बिहारको मधुवनी जिल्लास्थित बासोपट्टी थाना क्षेत्रको दुहबी बजारमा विशेष कार्यदल (एसटीएफ) र सशस्त्र सीमा बल (एसएसबी)को संयुक्त टोलीले नक्कली भारतीय नोट कारोबार भइरहेको सूचनाका आधारमा छापा मारेको थियो ।

सो क्रममा धनुषाको बिदेह नगरपालिकाका भरत महासेठ र उनका सहयोगी शिवकुमार राउत पक्राउ परेका थिए । उनीहरूको साथबाट ५० हजार भारतीय रुपैयाँ बराबरका नक्कली नोट बरामद भएको भारतीय प्रहरीले दाबी गरेको छ । बरामद नोट ५०० दरका रहेको बताइएको छ । भारतीय प्रहरीले जनाए अनुसार आरोपित महासेठ र राउत लामो समयदेखि सीमापार अवैध कारोबारमा संलग्न रहेको सूचना प्राप्त भएको थियो । पक्राउपछि उनीहरूसँग सोधपुछ गर्नुका साथै कारोबारको स्रोत, गन्तव्य र संलग्न अन्य व्यक्तिबारे अनुसन्धान भइरहेको छ । जयनगरका डीएसपी सदानन्द कुमारले पक्राउ परेका व्यक्तिहरूसँग विभिन्न कोणबाट सोधपुछ भइरहेको र उनीहरूसँग जोडिएको सञ्जालबारे अध्ययन भइरहेको बताए ।

भारतीय प्रहरीले उनीहरूको मोबाइल फोन, सम्पर्क सूत्र तथा बैंकिङ कारोबारसम्बन्धी कागजातसमेत परीक्षण गरिरहेको बताइएको छ । भारतीय अनुसन्धान अधिकारीहरूले हिरादेवीको परिवारलाई सीमापार अवैध कारोबारको सञ्जालसँग जोडेर अनुसन्धान थालेका छन् । भारतीय प्रहरीले जनाए अनुसार हिरादेवी भारतबाट अवैध रूपमा भित्र्त्याइने सामान कहाँ र कसरी पु¥याउने भन्ने व्यवस्थापनमा संलग्न रहेको आशंका छ भने भरतले भारतबाट सामान खरिद गर्ने गरेको बताइन्छ । भारतीय प्रहरीले जनाए अनुसार आरोपित महासेठ परिवारले यस अघि किराना तथा अन्य उपभोग्य वस्तुको सीमापार ओसारपसार गर्दै आएको थियो । काजु, चिनी, रजनीगन्धा, मरिच, सुपारी, मदिरालगायतका सामानको अवैध ओसारपसारमा उनीहरूको संलग्नताबारे समेत अनुसन्धान भइरहेको छ ।

आरोपित हिरादेवीका छोरा राजीव महासेठमाथि पनि सीमापार तस्करीसँग सम्बन्धित आरोप लाग्दै आएको बताइन्छ । मधेश प्रदेशको धनुषा, महोत्तरी र सिरहाका विभिन्न खुला सीमा नाकाबाट निर्वाध रूपमा तस्करीका सामान ओसारपसार गर्न प्रहरीका उच्च अधिकारीसँग ‘लाइन मिलाउने’ गरेको आरोपसमेत उनीहरुमाथि लगाइएको छ । अहिलेसम्म राजीव भने पक्राउ नपरेको भारतीय प्रहरीले दाबी गरेको छ । मधेश प्रदेशको राजधानी जनकपुरधामलाई केन्द्र बनाएर लामो समयदेखि खुला सीमानाकाको फाइदा उठाउँदै विभिन्न वस्तुको तस्करी हुने गरेको आरोप लाग्दै आएको छ । धनुषा प्रहरीले पटक–पटक तस्करीका सामान बरामद गरे पनि मुख्य कारोबारी र उनीहरूको सञ्जालसम्म पुग्न नसकेको भन्दै आलोचना हुँदै आएको छ ।

यसै क्रममा भारतीय प्रहरीले एकै परिवारका सहयोगीसहित दुई सदस्यलाई सीमापार अवैध कारोबार र नक्कली नोटको आरोपमा अनुसन्धानको दायरामा ल्याएपछि नेपालतर्फको सुरक्षा संयन्त्रमाथि पनि प्रश्न उठेको छ । स्थानीय एक व्यवसायीले लामो समयदेखि सीमावर्ती क्षेत्रमा सक्रिय तस्करीको सञ्जालबारे सुरक्षा निकाय जानकार हुँदाहुँदै पनि मुख्य व्यक्तिमाथि प्रभावकारी अनुसन्धान र कारबाही हुन नसकेको गुनासो गर्दै आएका छन् । भारतीय पक्षबाट भइरहेको पछिल्लो अनुसन्धानले सीमापार अपराधमा संलग्न भनिएका व्यक्तिहरूको सञ्जाल र नेपालतर्फको सम्भावित सम्पर्कबारे समेत थप तथ्य बाहिर ल्याउन सक्ने सम्भावनासमेत रहेको उनको भनाइ छ ।

नक्कली भारतीय रुपैयाँ र नेपाली रुपैयाँको नोटको समेत कारोबार लामो समयदेखि हुँदै आएको छ । नेपालमा पनि सर्लाही सीमा नाकाबाट नक्कली रुपैयाँको भारतीय कारोबारीहरुलाई केही महिना अघि पक्राउ गरिएको थियो । तर लामो समयपछि धनुषाको खुला सीमा नाकाबाट नक्कली भारतीय नोटको कारोबार गरिरहेको पाइएपछि नक्कली नोटको कारोबारीहरुको संजाल फैलिने क्रम रहेको देखिन्छ ।

Comment

Related News