सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार राति करिब ८ बजे चोहर्वाबाट जयनगरतर्फ जाँदै गरेको ज १ च १२१३ नम्बरको एम्बुलेन्समा गाँजा ल्याइँदै गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो।
सूचनापछि जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी निरीक्षक सुनिल चौरसियाको कमान्डमा टोली परिचालन गरिएको थियो। प्रहरीले एम्बुलेन्सलाई पछ्याउने क्रममा चालकले प्रहरीको निगरानी थाहा पाएपछि चोहर्वादेखि सिरहासम्म तीन स्थानमा राखिएका प्रहरी बेरिकेट तोडेर भागेको प्रहरीले जनाएको छ।
प्रहरीले थप टोली परिचालन गरी एम्बुलेन्सको पछ्याइ जारी राखेको थियो। त्यसक्रममा चालकले सिरहा नगरपालिका–१ स्थित हुलाकी सडकखण्डमा एम्बुलेन्स छाडेर फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
त्यसपछि प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएर जाँच गर्दा पाँचवटा बोरा फेला पारेको थियो। बोराभित्र रहेको पदार्थ तौल गर्दा १०५ किलो गाँजा रहेको पुष्टि भएको छ।
बरामद गाँजा र एम्बुलेन्स जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याइएको छ। फरार चालकको पहिचान तथा खोजतलास भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


