२०८३ आश्विन १, बिहीबार ०७:२५

महोत्तरीको औरही नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार खड् कामाथि कार्यालय परिसरमै हातपातको प्रयास भएको छ ।

बुधबार केही व्यक्तिहरू औरही नगरपालिकाको कार्यालय परिसरमा प्रवेश गरी हुलहुज्जत गर्दै आफूमाथि हातपातको प्रयास गरेको नगर प्रमुख खड्काले बताएका छन् । नगरप्रमुख खड्काले जनाए अनुसार घटनाको क्रममा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमाथि समेत अभद्र व्यवहार र हातपात भएको थियो । कार्यालय परिसरमा भएको घटनाका कारण जनप्रतिनिधि तथा कर्मचारीहरू असुरक्षित महसुस गर्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

घटनापछि पत्रकार सम्मेलन गर्दै नगर प्रमुख खड्काले कार्यालय परिसरमा हुलहुज्जत गर्ने, तोडफोड गर्ने, हातपात गर्ने तथा सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने कार्य कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताए । उनले घटनामा संलग्न व्यक्तिहरूको निष्पक्ष पहिचान गरी घटनाको गम्भीर अनुसन्धान गर्न सम्बन्धित सुरक्षा तथा प्रशासनिक निकायसँग माग गरेका छन् । घटनामा दोषी देखिएका व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गर्नुपर्ने उनको माग छ । त्यसैगरी, तोडफोडबाट सार्वजनिक सम्पत्तिमा भएको क्षतिको यकिन गरी सम्बन्धित पक्षबाट क्षतिपूर्ति तथा भर्पाइ गराउनुपर्ने नगर प्रमुख खड्काले बताएका छन् । नगर प्रमुख खड्कामाथि भएको हुलहुज्जत तथा हातपात प्रयासको घटनापछि औरही नगरपालिकाले अत्यावश्यक सेवाबाहेक कार्यालयबाट प्रवाह हुने अन्य सम्पूर्ण सेवा अनिश्चितकालसम्मका लागि बन्द गरेको जनाएको छ ।

कर्मचारी तथा जनप्रतिनिधिको सुरक्षा सुनिश्चित नहुञ्जेलसम्म नियमित सेवा सञ्चालन गर्न सक्ने अवस्था नरहेको नगर प्रमुख खड्काको भनाइ छ । औरही नगरपालिकाले स्वास्थ्य, विपद् तथा अन्य अत्यावश्यक प्रकृतिका सेवाहरू भने आवश्यकता अनुसार सञ्चालनमा राख्ने जनाएको छ । नियमित प्रशासनिक तथा अन्य गैरअत्यावश्यक सेवाहरू भने सुरक्षा अवस्थाको पुनरावलोकनपछि मात्र सञ्चालन गर्ने तयारी गरिएको छ । नगर प्रमुख खड्काले जनप्रतिनिधि तथा कर्मचारीको पूर्ण सुरक्षाको प्रत्याभूति भएपछि मात्रै कार्यालयमा निर्भय वातावरणमा सेवा प्रवाह गर्न सकिने बताए । औरही नगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिले सुरक्षित वातावरणमा काम गर्न पाउने अवस्था सुनिश्चित गर्नु राज्यका सम्बन्धित निकायको दायित्व भएको नगर प्रमुख खड्काले बताएका छन् । उनले घटनामा संलग्न व्यक्तिको पहिचान, निष्पक्ष अनुसन्धान, सार्वजनिक सम्पत्तिमा भएको क्षतिको मूल्यांकन तथा कानुनी कारबाहीसँगै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाउन स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग आग्रह गरेका छन् ।

औरही नगरपालिकाको सेवा नियमित रूपमा सञ्चालन गर्न जनप्रतिनिधि र कर्मचारीको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने उनको भनाइ छ । सुरक्षा अवस्था सामान्य बनेपछि मात्रै सबै सेवा पुनः सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । सो घटनाका सम्बन्धमा स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट थप अनुसन्धान र आधिकारिक विवरण सार्वजनिक हुन बाँकी नै रहेको छ । बडा दशैँलगायत चाडपर्वको मुखमै आएर औरही नगरपालिकामा भएको सो घटनाले सबैभन्दा बढी समस्या सेवाग्राहीले भोग्नु पर्ने छन् । अत्यावश्यक बाहेकका सम्पूर्ण कामकाज ठप्प भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

Comment

Related News

Latest News

Trending News