जनमत पार्टीको दोस्रो महाधिवेशनमा अध्यक्ष पदका लागि डा. सीके राउतको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका छन्।
आगामी असोज ९ र १० गते वीरगञ्जमा हुने महाधिवेशनका लागि बिहीबार मनोनयन दर्ता गरिएको हो।
अध्यक्षमा राउत निर्विरोध भए पनि अन्य पदमा भने प्रतिस्पर्धा हुने भएको छ। सात उपाध्यक्षका लागि १४ जनाको उम्मेदवारी परेको छ।
त्यस्तै, महासचिवमा ३, उपमहासचिवमा २ तथा सात सचिवका लागि १० जनाले उम्मेदवारी दिएका छन्।
प्रारम्भिक उम्मेदवार सूचीअनुसार महासचिवमा ममता झा, चन्दनकुमार सिंह र संजयकुमार यादव छन्। उपमहासचिवमा निर्मलकुमार मण्डल र ललितचन्द्र मल्लिक प्रतिस्पर्धामा छन्।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजेशकुमार मण्डलका अनुसार उम्मेदवारको अन्तिम सूची तथा निर्वाचनसम्बन्धी प्रक्रिया टुंग्याइँदैछ।


