२०८३ आश्विन २, शुक्रबार १७:४३

सरकारले बिभिन्न १३ वटा देशमा राजदूतहरू नियुक्ति गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन लगाएत १३ वटा देशका राजदूत नियुक्त गर्नका लागि सिफारिस गरेको हो । बैठकले भारतको राजदूतमा डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लािग चिरनजंग थापा, बेलायतमा पूर्वप्रधानसेनापति गौरव शम्शेर राणा, जापामा जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्णलाई सिफारिस गरेको छ ।

त्यस्तै बैठकले स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरू जोशी, ओमानका लागिडा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचला झा र साउदी अरेबियाका लागि प्रस्तावित राजदूतमा गिरीबहादुर सुनारलाई सिफारिस गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

बैठकले ‘नेपाली नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३’ स्वीकृत गरेको छ भने साविकमा कृषि, वन तथा वातावरण मन्त्रालय मातहत रहेको ‘नेपाल मौसम विज्ञान विभाग’लाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत रहने गरी नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ संशोधन गर्ने निर्णय भएको उहाले बताउनुभयो ।

बैठकले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ भने सहसचिव रुद्रसिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरिएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

Comment

Related News

Latest News

Trending News