नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको रक्षाका लागि बिभिन्न स्वरुपमा संघर्ष अघि बढाउने बताउनुभएको छ ।
संविधान दिवसका अवसरमा एमालेले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मुलुकलाई विधि, पद्धति र संविधानभन्दा बाहिर लगेर अराजकता तथा अध्याँरो युग तर्फ धकेल्ने षड्यन्त्र भइरहेको भन्दै संविधान र लोकतन्त्रको रक्षाका लागि पार्टीले नेतृत्व लिएर कानुनी तथा विभिन्न स्वरूपका संघर्षहरू अगाडि बढाउने बताउनुभएको हो ।
उहाले मुलुकलाई संविधान र लोकतान्त्रिक विधि अनुसार चल्न नदिई सडकबाट केही हजार मानिस उतारेर जनताको ३ करोडको जनमतलाई ध्वस्त पार्ने प्रयास भइरहेको र यसले हिंसा तथा दिशाहीनता निम्त्याउने धारणा राख्नुभयो ।
भदौ २३ र २४ गतेका घटना, असंवैधानिक रूपमा सरकार र प्रतिनिधिसभा विघटन तथा राष्ट्रिय क्षति पु¥याउनेहरूलाई छुट दिने काम भएको भन्दै उहाले असन्तुष्टि जनाउनुभयो ।
अध्यक्ष ओलीले सबै घेराबन्दी र विभाजनका बाबजुद एमाले एकताबद्ध भएर निर्णायक राष्ट्रिय शक्तिको रूपमा अघि बढ्ने दावी गर्नुभयो । उहाले असोज ६ र ७ गतेको केन्द्रीय समितिको बैठकले देखिएका समस्याहरूको समाधान निकाल्दै पार्टीलाई सुदृढ एकताका साथ अझ सक्रिय बनाएर लैजाने बताउनुभयो ।
उहाले एमालेमा गल्ती–कमजोरी महसुस गर्ने क्षमता र लडे पनि फेरि उठेर अगाडि बढ्ने सामथ्र्य भएकाले कसैले चाहेर पनि पार्टीलाई सिध्याउन नसक्ने दाबी गर्नुभयो । पार्टीभित्रको विवादमा बारेमा आएका समाचारमा सत्यता नभएको भन्दै उहाले पार्टी एकता र आगामी कामको संकल्पसहित अघि बढ्ने उल्लेख गर्नुभयो ।


