बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरा मेनरोडस्थित होटलमा आफ्नै साथीको हत्या गरेर फरार भएका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जीतपुरसिमरा–२ पाँचधुरे टोलका २५ वर्षीय आयुष राई रहेका छन्। राईलाई प्रहरीले शनिबार राति जीतपुरसिमरा–१६ महेन्द्रनगरस्थित धानखेतबाट पक्राउ गरेको हो।
शनिबार साँझ करिब ५ बजे सिमरास्थित सम्झना स्टाफ होटलमा भएको विवादका क्रममा चक्कु प्रहार हुँदा स्थानीय ३५ वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको थियो।
प्रहरीका अनुसार खाजा खान होटल पुगेका केही व्यक्तिहरूबीच विवाद भएपछि होटलको भान्सामा रहेको धारिलो चक्कुले खड्काको घाँटीमा प्रहार गरिएको थियो। गम्भीर घाइते खड्कालाई तत्काल उपचारका लागि वीरगञ्जस्थित अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि फरार भएका राईलाई प्रहरीले खोजी गर्ने क्रममा धानखेतबाट पक्राउ गरेको हो। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले थप तीन जनालाई समेत नियन्त्रणमा लिएको छ। उनीहरूको परिचय प्रहरीले सार्वजनिक गरेको छैन।
घटना भएको होटलकी सञ्चालिकालाई समेत प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ।
‘घटनामा संलग्न रहेको आशंकामा अन्य तीन जनालाई पनि पक्राउ गरेका छौँ। होटलकी सञ्चालिकालाई समेत सोधपुछका लागि नियन्त्रणमा लिएका छौँ। घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दयाकृष्ण भट्टले भने।
प्रहरीले घटनाको कारण, चक्कु प्रहार गर्ने व्यक्तिको भूमिका तथा अन्य व्यक्तिहरूको संलग्नताबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


