मधेश प्रदेशले आफ्नै प्रदेशभित्र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ गरी वितरण गर्ने व्यवस्था शुरु गरेको छ । सातवटै प्रदेशमध्ये मधेश प्रदेशले पहिलोपटक आफ्नै सुरक्षण मुद्रण केन्द्रबाट स्मार्ट कार्डमा आधारित सवारी चालक अनुमतिपत्र छपाइ गरी सम्बन्धित यातायात व्यवस्था कार्यालयमार्फत सेवाग्राहीलाई वितरण गर्ने प्रक्रिया अघि बढाएको छ ।
श्रम तथा यातायात मन्त्रालयले प्रदेशको आफ्नै सुरक्षण मुद्रण केन्द्रबाट छपाइ गरिएका सवारी चालक अनुमतिपत्र सम्बन्धित आठवटै जिल्लाका यातायात व्यवस्था कार्यालयका प्रमुखलाई हस्तान्तरण गरेको छ । मन्त्रालयले पहिलो चरणमा छपाइ सम्पन्न भएका ३ हजार ८१ थान स्मार्ट कार्ड सम्बन्धित जिल्लाका कार्यालय प्रमुखलाई हस्तान्तरण गरेको छ । श्रम तथा यातायातमन्त्री शारदा देवी थापाले आठवटै जिल्लाका यातायात व्यवस्था कार्यालयका प्रमुखलाई स्मार्ट कार्ड हस्तान्तरण गर्दै प्रदेशमै लाइसेन्स छपाइ र वितरणको औपचारिक सुरुवात गरिन् । पहिलो चरणमा राजविराजका लागि ५२ थान, सिरहाका लागि ४६० थान, महोत्तरीका लागि ३०३ थान, धनुषाका लागि ९३२ थान, सर्लाहीका लागि ३२ थान, रौतहटका लागि ११९ थान, बाराका लागि ११ थान र पर्साका लागि १ हजार १७२ थान सवारी चालक अनुमतिपत्र सम्बन्धित कार्यालयका प्रमुखलाई हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्री थापाले दिएको जानकारी अनुसार अब सवारी चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले लामो समयसम्म लाइसेन्सका लागि कुर्नुपर्ने अवस्था क्रमशः अन्त्य हुनेछ । परीक्षा उत्तीर्ण गरेको एक सातामै सम्बन्धित यातायात व्यवस्था कार्यालयले स्मार्ट कार्ड तयार गरी स्थानीय तहमा पठाउने र सेवाग्राहीले आफ्नै पालिकाबाट लाइसेन्स प्राप्त गर्न सक्ने व्यवस्था मिलाइने उनले बताइन् । मन्त्री थापाले मधेश प्रदेशमै लाइसेन्स छपाइ हुन थालेपछि परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले लाइसेन्स प्राप्त गर्न लामो समयसम्म कुर्नुपर्ने अवस्थालाई क्रमशः अन्त्य गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गरिन् । सेवाग्राहीको सुविधालाई केन्द्रमा राखेर प्रदेश सरकारले लाइसेन्स वितरण प्रक्रियालाई सहज बनाउन पहल थालेको मन्त्री थापाको भनाइ छ ।
उनले नयाँ व्यवस्थाबाट सेवाग्राहीले यातायात कार्यालयमा घण्टौँ लाइनमा बसेर तथा वर्षौँसम्म लाइसेन्सको प्रतीक्षा गर्नुपर्ने बाध्यता हट्ने दाबी गरिन् । उनले छपाइ गरिएका चालक अनुमतिपत्र स्थानीय तहसँग सहकार्य गरी वडासम्म पु¥याएर जनताको घरदैलोमै वितरण गर्ने तयारी भइरहेको बताइन् । उनले जनाए अनुसार सवारी चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेपछि केही दिनमै सम्बन्धित यातायात व्यवस्था कार्यालयले स्मार्ट कार्ड तयार गर्ने र त्यसलाई स्थानीय तहसम्म पठाउने व्यवस्था मिलाइनेछ ।
यसबाट सेवाग्राहीले आफ्नो पालिकाबाटै लाइसेन्स प्राप्त गर्न सक्ने अवस्था सिर्जना गर्ने प्रदेश सरकारको तयारी उनको भनाइ छ । प्रदेशमै रहेको सुरक्षण मुद्रण केन्द्रको प्रयोग गरी सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणको प्रक्रिया शुरु गर्न पाएकोमा मन्त्री थापाले खुसी व्यक्त गरिन् । मन्त्रालयका निमित्त प्रदेश सचिव रञ्जित कुमार यादवले अब ट्रायल परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले करिब एक साताभित्र सवारी चालक अनुमतिपत्र प्राप्त गर्न सक्ने दाबी गरे ।
यसअघि सवारी चालक अनुमतिपत्र छपाइका लागि संघीय सरकार मातहतको प्रक्रियामा निर्भर रहनुपर्ने भएकाले छपाइ र वितरणमा समय लाग्ने गरेको उनको भनाइ छ । अब भने प्रदेश सरकारले आवश्यक संख्यामा लाइसेन्स छपाइका लागि प्रदेशकै सुरक्षण मुद्रण केन्द्रमा पठाउन सक्ने भएकाले प्रक्रिया छोटो हुने अपेक्षा गरिएको छ । का अनुसार मधेश प्रदेशभर वितरण हुने सवारी चालक अनुमतिपत्र अब प्रदेशकै सुरक्षण मुद्रण केन्द्रबाट छपाइ गरिने भएको छ । उनले अब ट्रायल पास गरेकाहरूले एक सातमै आफ्नो लाइसेन्स पाउने दाबी गरे । निमित्त सचिव यादवले भने, ‘विगतमा संघीय सरकार मातहत छपाइमा जाँदा केही समय लाग्थ्यो, तर अब हामी आफैँ संख्या तोकेर प्रिन्टका लागि सुरक्षण केन्द्रमा पठाउँछौँ । निश्चित समयमा छपाइ भएर आउने हुँदा पहिलाजस्तो लाइसेन्स पाउन समय लाग्दैन ।’ यातायात व्यवस्था कार्यालय जनकपुरका प्रमुख बासुदेव मल्लले प्रदेश सरकारबाटै छपाइको काम शुरु भएकाले सेवाग्राहीलाई अब कठिनाइ नहुने बताए ।
मधेश प्रदेशका आठवटै जिल्लाबाट सेवा लिने सेवाग्राहीलाई लक्षित गरी शुरु गरिएको उक्त व्यवस्थाले लाइसेन्स छपाइ तथा वितरणमा हुने ढिलाइ कम गर्ने र सेवाग्राहीलाई स्थानीय तहमै सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ । पहिलो चरणमा हस्तान्तरण गरिएका स्मार्ट कार्ड सम्बन्धित यातायात व्यवस्था कार्यालयले प्रक्रिया पूरा गरी पालिकास्तरमै सेवाग्राहीको घरदैलोमै सेवा उपलब्ध गराउने भएको छ ।



