रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया नदीको पुलबाट हाम फालेका एक युवक बेपत्ता भएका छन्।
बारा सिम्रौनगढ नगरपालिका–११ कटहरिया टोलका २७ वर्षीय सचिन्द्र यादव शुक्रबार दिउँसो करिब १ बजे मोटरसाइकलबाट झरेर पुलबाट लालबकैया नदीमा हाम फालेपछि बेपत्ता भएका हुन्। उनी मानसिक रूपमा अस्वस्थ रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यादव आफ्ना दाइ ३५ वर्षीय सिकिन्द्र यादवले चलाएको बागमती प्रदेश–०२–०६२ प ८५४८ नम्बरको मोटरसाइकलमा पछाडि बसेर उपचारका लागि कचोर्वाबाट गरुडा जाँदै थिए। मौलापुर–४ स्थित लालबकैया पुलमा पुगेपछि उनी मोटरसाइकलबाट झरेर अचानक नदीमा हाम फालेका थिए।
घटनाको जानकारी दिउँसो करिब २ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मौलापुरका इन्स्पेक्टर भरत केसीको कमान्डमा १७ जनाको प्रहरी टोली खोजीमा परिचालन गरिएको छ।
यस्तै, सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प देवाही गोनाहीबाट इन्स्पेक्टर दिलबहादुर नेपालीको कमान्डमा गोताखोरसहित ७ जनाको टोली पनि खोजीमा खटिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी २४ जनाको टोलीले नदीमा खोजी गरिरहेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार अपराह्न पौने ४ बजेसम्म यादव फेला परेका छैनन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय मौलापुरबाट करिब ३ किलोमिटर पूर्वमा पर्छ।



