२०८३ आश्विन १०, शनिबार ०६:३९

मधेश प्रदेश लोक सेवा आयोगबाट दलित समुदायका लागि आरक्षित पदमा गैर दलित ‘सहनी’ थरका उम्मेदवार छनोट भएको विषयमा छानबिन गरी सही तथ्य खुलाउन राष्ट्रिय दलित आयोगले माग गरेको छ ।

राष्ट्रिय दलित आयोगको अधिकार प्रवद्र्धन तथा सशक्तीकरण शाखाले मधेश प्रदेश लोक सेवा आयोगलाई दलिततर्फको आरक्षित पदमा गरिएको सिफारिसका सम्बन्धमा आवश्यक विवरण उपलब्ध गराई दिन भनी शुक्रवार पत्राचार गरेको हो । बारा जिल्लाको विश्रामपुर गाउँपालिका–९ का लालकुमार पासवानले दिएको निवेदनका आधारमा आयोगले विवरण माग गरेको जनाइएको छ ।

पासवानले मधेश प्रदेश लोक सेवा आयोगको विज्ञापन नं. ५४७/२०८२–८३ अन्तर्गत स्थानीय इन्जिनियरिङ सेवा, सिभिल समूह, अधिकृतस्तर सातौँ (प्राविधिक) तहको दलिततर्फको लिखित परीक्षाको नतिजा प्रकाशनपछि उम्मेदवार सिफारिसप्रति प्रश्न उठाएका छन् । लिखित परीक्षाको नतिजामा क्रमसंख्या २७ मा राम पुकार सहनी छनोट भएको उल्लेख गर्दै निवेदकले ‘सहनी’ थर दलित समुदायभित्र नपर्ने भएकाले उम्मेदवारको सिफारिस रद्द गर्न माग गर्दै आएका छन् ।

निवेदनमा तराई–मधेशका दलित समुदाय सम्बन्धी राष्ट्रिय दलित आयोगको पूर्व निर्णयसमेत उल्लेख गरिएको छ । आयोगले पत्रमा पटवा, बिन (मुसहरिया), मलाह (सहनी), लोहार र गोढिया थर दलित जातिभित्र नपर्ने सम्बन्धमा आयोगको निर्णय तथा यसअघि सबै प्रदेश लोक सेवा आयोगमा गरिएको पत्राचारबारे समेत जानकारी गराएको छ । राष्ट्रिय दलित आयोगले २०८३ वैशाख ७ गतेको निर्णय तथा २०८२ पुस १० गतेको पत्राचारलाई समेत आधार बनाउँदै उक्त विषयमा मधेश प्रदेश लोक सेवा आयोगबाट के–कस्तो प्रक्रिया अपनाइएको हो भन्नेबारे स्पष्ट विवरण माग गरिएको राष्ट्रिय दलित आयोगको अधिकार प्रवद्र्धन तथा सशक्तीकरण शाखाका शाखा अधिकृत गोपाल श्रेष्ठले जनाएको छ ।

आयोगले सम्बन्धित विज्ञापन, उम्मेदवार छनोट तथा सिफारिसको आधारलगायत विषयमा वास्तविकता खुलाइ पठाउन मधेश प्रदेश लोक सेवा आयोगलाई आग्रह समेत उनले बताएका छन । यसअघि मधेश प्रदेशका दलितको क्षेत्रमा काम गर्दै आएका संघ संस्था तथा दलित अभियन्ताहरुले पनि आपत्ति जनाउँदै घोर भत्र्सना गर्दै ती सिफारिस रद्द गर्न माग गरेका थिए ।

Comment

Related News

Latest News

Trending News