अपडेट 
२०७७ जेष्ठ ९, शुक्रबार ११:०८

काठमाण्डु । नेपालले जारी गरेको नयाँ नक्साको समर्थनमा ट्वीट गरेकी अभिनेत्री मनीषा कोइरालामाथि विभिन्न आरोपसहित भारतीय मिडिया खनिएका छन् । नेपाली चलचित्रकर्मी तथा संगीतकर्मीले मनीषाको ट्वीट सही भएको भन्दै भारतीय मिडियाको विरोध गरेका छन् ।

अभिनेता राजेश हमालले नेपालमाथिको भारतको पछिल्लो गतिविधि आपूmलाई ठीक नलागेको बताएका छन् । उनले अभिनेत्री मनीषा कोइरालाको पक्ष लिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘छिमेकी मित्रराष्ट्र भारतको पछिल्लो गतिविधिले हामी सबै नेपालीलाई मर्माहत बनाएको छ । इतिहास नै साक्षी छ कि, लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भू भाग हो ।’ यसअघि पनि भूकम्पको बेलामा भारतले नेपाललाई नाकाबन्दी गरेर दुःख दिएको अभिनेता हमालले टिप्पणी गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार नेपालको नयाँ नक्सा मन्त्रिपरिषद्बाट पारित भएको भन्दै त्यसबारे जानकारीमूलक ट्वीट गरेका थिए । अभिनेत्री मनीषाले परराष्ट्रमन्त्री ज्ञवालीको यही ट्वीटलाई रि–ट्वीट गर्दै यस्तो लेखेकी थिइन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकामा धन्यवाद । अब हामी तीन महान् देशहरूबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’

अभिनेत्री मनीषाको यही ट्वीटविरुद्ध विभिन्न आरोप लगाउँदै भारतीय मिडिया उनीमाथि खनिएका हुन् । यस्तै, अर्का अभिनेता दीपकराज गिरीले मनीषा कोइराला नेपाली भएको र उनले नेपालबारे बोल्दा त्यसको विरोध गर्नु गलत भएको बताएका छन् । आफ्नो ट्वीटमा मनीषाले चीनबारे केही नबोलेको तर उनलाई भारतीय मिडियाले अनावश्यक आरोप लगाएको भन्दै गिरीले दुःख व्यक्त गरेका छन् ।

भारतीय मिडियाले सधैं नेपालकी चेली भन्दै आएकाले मनीषाले नेपालबारे बोल्नु कुनै अनौठो कुरा नभएको बताएका छन् ।

अभिनेत्री केकी अधिकारी, ऋचा शर्मा, निशा अधिकारीलगायतले आफूहरू मनीषाको पक्षमा भएको भन्दै एउटा सामाजिक सञ्जालमार्फत मनीषाको समर्थन अभियान नै चलाएका छन् । भारतीय मिडियाले यतिबेला अभिनेत्री मनीषालाई खेदो खनेको यी अभिनेत्रीहरूलाई पनि मन परेको छैन । मनीषा नेपाली चेली भएकाले उनले ट्वीटमा सही बोलेको उनीहरूको भनाइ छ । अभिनेत्री निशा अधिकारीले आफू मनीषाको पक्षमा रहेको भन्दै उनको तस्बिर नै सामाजिक सञ्जालमा सेयर गरेकी छन् । उनले मनीषाको पक्षमा लाग्न सबैलाई आह्वानसमेत गरेकी छन् ।

अभिनेत्री ऋचा शर्माले भारतमा आफैंले मेहनत गरेर फिल्म खेलेर मनीषाले लाखौं प्रशंसक कमाएको बताएकी छिन् । ऋचाले मनीषाको समर्थनमा लेखेकी छन्, ‘कसैको कृपा र परोपकारले उनी बलिउडमा छाएकी होइनन् । भारतकै भूमिमा जन्मिएका कैयन् कलाकारहरू समयसँगै बलिउडको चौघेराबाट हराउँदै गए । तर, मनीषा आजपर्यन्त बलिउडमा दह्रिलो उपस्थिति जनाएर बसेकी छन् ।’ प्रियंका चोपडाले अचेल हलिउडमा राम्रो स्थान बनाइरहेकी छन् । तर, यसो भन्दैमा उनले आफ्नो मातृभूमि भारतलाई बिर्सिएकी छैनन् भन्ने ऋचाको कथन छ ।

भारतीय मिडियाले समाचार नभएर खोक्रो राष्ट्रवाद बेचेको भन्दै ऋचाले त्यसको टिप्पणी गरेकी छन् । मनीषाको यो कदमको उनले स्वागत गरेकी छन् ।

अभिनेत्री पूजा शर्माले मनीषा कोइरालाको ट्वीटलाई समर्थन जनाएकी छन् । सामाजिक सञ्जालमा उनले पनि मनीषाको पक्षमा लेखेकी छन्, ‘मनीषा कोइरालाको ट्वीटलाई लिएर भारतीय मिडियाहरू रोइलो गरिरहेका छन् । तर, उनीहरूले सत्यता के हो भनेर केलाएर समाचार बनाउने र खोजी गर्ने चेष्टा पनि गरेनन् ।’

अभिनेत्री मनीषाले भारतमा भीख मागेर नुन नखाएको र आफ्नो पौरखले कलाकारितामा उभिएको पनि अभिनेत्री पूजाको भनाइ छ, ‘मनीषा दिदीको योगदानलाई लत्याउँदै उल्टै अपशब्द बोल्ने मिडियाप्रति टीठ लागेर आयो ।’ यस्तो बेलामा नेपालीहरू एक हुनुपर्ने उनको भनाइ छ ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कालगायत कलाकारले अभिनेत्री मनीषा कोइरालाको ट्वीटको समर्थन गरेका छन् । उनको ट्वीटको समर्थन गर्दै मनीषाको पक्षमा गायिका इन्दिराज जोशीदेखि थुप्रै गायक गायिकाले आफ्नो तर्क सामाजिक सञ्जालमा राखेका छन् ।

Comment


Related News

Latest News

Trending News