२०८३ आश्विन १०, शनिबार १६:१२

कोशी प्रदेशको राजधानी विराटनगरमा आगामी असोज २२ र २३ गते सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने मुख्यमन्त्री सम्मेलन आयोजना हुने भएको छ ।

कोशी प्रदेश सरकारको आयोजनामा हुन लागेको सम्मेलनका लागि आवश्यक तयारी सुरु गरिएको छ । संघीयता कार्यान्वयनका क्रममा प्रदेशहरूले भोग्दै आएका समस्या, संघीयतालाई थप प्रभावकारी र बलियो बनाउन अपनाउनुपर्ने उपाय तथा प्रदेशहरूबिचका असल अभ्यास आदानप्रदानका विषयमा सम्मेलनमा छलफल हुने भएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयतामा देखिएका चुनौती र प्रदेशहरूले गरेका असल अभ्यासबारे छलफल गर्दै आर्थिक समृद्धि र सुशासनको बाटो पहिल्याउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताए ।

सम्मेलनको तयारी तथा समन्वयको जिम्मेवारी कोशी प्रदेश योजना आयोगलाई दिइएको छ ।

सम्मेलनमा प्रदेश र स्थानीय तह तथा संघीय सरकारबिचको समन्वय, कानुनी समस्या र प्रदेशका साझा सवालका विषयमा समेत अन्तरक्रिया हुनेछ । प्रदेशहरूबिच साझेदारी र सहकार्यका सम्भावनालाई समेत सम्मेलनले प्राथमिकता दिने जनाइएको छ ।

कार्यक्रमअन्तर्गत कोशी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सहभागी मुख्यमन्त्रीहरूलाई विराटनगर आसपासका पर्यटकीय गन्तव्यको भ्रमण गराउने कार्यक्रमसमेत तय गरिएको छ ।

सम्मेलनलाई व्यवस्थित बनाउन कोशी प्रदेश योजना आयोगले आवश्यक समिति गठन तथा कार्य विभाजन गरी तयारीलाई अघि बढाएको जनाएको छ ।

Comment

Related News

Latest News

Trending News