नेपालले पुनस्र्थापना र पुनर्निर्माणका लागि अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोगमा जोड दिएको छ ।
संयुक्त राष्ट्रसंघको महासभाबाट प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किपछि परराष्ट्र मन्त्रालयले त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै पुनस्र्थापना र पुनर्निर्माणका लागि अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको औँल्याउँदै ‘लस एन्ड ड्यामेज फण्ड’ सहितका वित्तीय संयन्त्रबाट स्रोत परिचालन सहज बनाउन माग गरिएको जनाएको हो ।
पत्रकार सम्मेलनमा मन्त्रालयका निमित्त सचिव गणेश प्रसाद ढकालले हालै भोटेकोसीमा आएको विनाशकारी बाढीलाई जलवायु संकटको गम्भीर प्रभाव र विश्वका लागि चेतावनीको रूपमा प्रस्तुत गर्दै विपद्बाट भएको ठूलो जनधन, भौतिक पूर्वाधार र जनजीविकाको क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराइएको बताउनुभयो ।
जलवायु परिवर्तनलाई भू–राजनीतिक द्वन्द्वको विषय नबनाई ‘साझा तर फरक जिम्मेवारी’का आधारमा समाधान खोज्न र बढी उत्सर्जन गर्ने तथा स्रोत–साधन सम्पन्न मुलुकहरूले थप जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिइएको समेत उहाले बताउनुभयो ।
त्यस्तै महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग भेटवार्ता गर्नुभएको निमित्त सचिव ढकालले जानकारी दिनुभयो ।



