२०८३ आश्विन ११, आईतवार ०७:०४

नेपाली कांग्रेसको संस्थापन पक्षको धनुषामा विवादको कारण पालिका अधिवेशन प्रभावित भएको छ । शनिबारदेखि नै पालिका अधिवेशन गर्ने तयारी भए पनि मतदाता नामावलीको टुंगो नलाग्दा रोकिएको छ ।

मधेश प्रदेशको राजधानी रहेको जनकपुरधाम उपमहानगरपालिकाको अधिवेशन उद्घाटन भए पनि निर्वाचनको प्रक्रिया अगाडि बढ्न सकेन । संस्थापन पक्षको अधिवेशनको शनिवार उद्घाटन भइरहेको बेला नै इतर पक्षले जिल्लामा अधिवेशन गर्ने प्रकृयालाइ अगाडी बढाउन बृहत्त छलफल सम्पन्न गरेको छ । संस्थापन पक्षको निर्वाचन क्षेत्र नम्बर चारमा विवाद भएको छ । निर्वाचन क्षेत्र नम्बर चारमा कांग्रेस एक रहेको बेला पनि विवाद हुने गरेको थियो । कांग्रेस विभाजन हुँदा पनि त्यो विवादको अन्त्य भएको छैन । निर्वाचन क्षेत्र नम्बर चारमा विगतमा दुई गुट मात्र रहे पनि हाल तीन गुट खडा भएको छ । पूर्वसहमहामन्त्री महेन्द्र यादवको एउटा गुट, जिल्ला सभापति योगेन्द्र पजियारको एउटा गुट र डा. चन्द्रमोहन यादवको एउटा गुट गरी तीनवटा गुट खडा भएको छ । तीनै गुटबीच विवाद हुँदा जिल्लाको मतदाता सूची पनि टुंगिएको छैन । पालिका स्तरीय मतदाता सूची टुंगिएको पालिकामा नेतृत्व चयन पनि भएको छ ।

कमला नगरपालिकामा कमलेश यादव सभापतिमा चयन भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाको मतदाता चयनमा वडा नम्बर १९ मा विवाद देखिएको छ । मनोज चौधरीको अनुसार शनिबार अबेर साँझसम्म निर्वाचन अधिकृतले मतदाता नामावली प्राप्त गरेका छैनन् । तर आइतबार १० बजे मतदाता सूची सार्वजनिक गर्ने उनले बताएका छन् । जनकपुरधाम उपमहानगरको सभापतिमा मेयर मनोज कुमार साह नदोहरिने बताएपछि परमेश्वर साह र लालबाबु मिश्रबीच प्रतिस्पर्धा हुने भएको छ । साह र मिश्र नगरको पुराना नेताहरु हुन् । दुई जनाबीच सहमतिको प्रयास भइरहे पनि चुनावको सम्भावना नै बलियो रहेको नगर सभापति समेत रहेका मेयर साहले बताए ।

कांग्रेस संस्थापन पक्षमा मधेश प्रदेशको आठवटै जिल्लामा दुई गुट देखिएको छ । इतर पक्षले छुट्टै अधिवेशनको तयारी गरिरहे पनि संस्थापन पक्षमा गुटको अन्त्य हुन सकेको छैन । जनकपुरधाम उपमहानगरपालिकामा संस्थापन पक्ष नै धेरै बलियो देखिएको छ । कांग्रेस इतर पक्षका नेता विमलेन्द्र निधिको गृहनगर समेत रहेको निर्वाचन क्षेत्र नम्बर ३ मा संस्थापन पक्ष बलियो देखिएपछि इतर पक्षले जोडतोडका साथ अधिवेशनको तयारीमा जुटेको छ । धनुषाको प्रायः सबै पालिकामा दुवै पक्षको कमिटी गठन हुने छ । कांग्रेसको क्रियाशील सदस्यता संस्थापन पक्ष तर्फ बढी रहेको छ । जिल्ला सभापति, उपसभापतिहरु संस्थापन पक्ष तर्फ लागेकाले पलरा भारी भएको छ । नेता निधिको गृह रहेको नगराईन नगरपालिकामा सर्वसम्मतिबाट नगर सभापति चयन भएको जिल्ला उपसभापति गणेश झाले जनाएका छन् । उनले मुखियापट्टी, धनौजीलगायत अधिकांश पालिकाहरुमा सर्वसम्मतिबाट नै नेतृत्व चयन भएको बताएका छन् । इतर पक्षले कोमलकान्त झालाई जिल्ला संयोजक बनाएको छ । उनी यस अघि उपसभापति रहेका थिए । इतर पक्षमा नेता निधि, आनन्द प्रसाद ढुंगाना प्रमुख हुन् ।

संस्थापन पक्षले असोज १६ गते महाधिवेशनको उद्घाटन गर्ने तिथि घोषणा गरिसकेको छ । इतर पक्षले असोज २१ गते गर्ने छ । हाल इतर पक्ष कमजोर देखिए पनि संस्थापन पक्षको अधिवेशनमा असन्तुष्ट देखिएको पक्ष इतर तर्फ जान सक्ने सम्भावना रहेको कांग्रेसका नेताहरु बताउँछन् । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षधर नेताहरु नै संस्थापन पक्षतिर लागेका छन् । संस्थापन पक्षमा अटाउन नसक्ने नेताहरु इतर पक्षमा सहजै महत्वपूर्ण स्थान पाउन सक्ने देखिएकोछ । अहिले इतर पक्ष अत्यन्त कमजोर देखिएको छ । तर संस्थापन पक्षको विवादले त्यो समूहलाई बलियो बनाउने छ । मधेश प्रदेशको राजनीतिमा धनुषा जिल्ला सर्वाधिक महत्वपूर्ण मानिन्छ । कांग्रेसमा मात्र नभै सबै दलका लागि धनुषा जिल्ला केन्द्र रहेको छ ।

पछिल्लो समय मधेश प्रदेशको राजधानी बनेपछि दलहरुले संगठन सुदृढीकरणमा अत्यधिक जोड दिएको देखिन्छ । हाल धनुषाको चारवटा मध्ये तीनवटा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद छन् । निर्वाचन क्षेत्र नम्बर एकमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को सांसद छन् । आगामी स्थानीय चुनावमा प्रदेशको राजधानी रहेको उपमहानगरमा जीत हात पार्न सबै दलहरु लागिपरेको समयमा कांग्रेस भने विभाजित भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको निर्वाचनमा अधिकांश चुनावमा स्वतन्त्र उम्मेदवारहरुले जितेका छन् ।

एक पटक मात्र लालकिशोर साह र रीता झा राष्ट्रिय जनता पार्टी-राजपा) बाट चुनाव जितेका थिए । कांग्रेस विभाजित भएकोले चुनावमा त्यसको प्रभाव पर्ने निश्चित देखिएको छ । कांग्रेसको विवादले अन्य दलहरुलाई लाभ मिल्ने सम्भावना रहेको बताइन्छ ।

Comment

Related News

Latest News

Trending News