२०८३ आश्विन १२, सोमबार ०७:२७

धनुषामा नेपाली कांग्रेसको पालिका अधिवेशन जारी छ । सो क्रममा नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पँजियारले मनोमानी गर्दा अधिकांश नेता तथा कार्यकर्ताहरु इतर समूहमा आकर्षित भएका छन् ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा भएको पालिका अधिवेशनमा योगेन्द्र पँजियारले मनोमानी गर्दा इमान्दार नेता तथा कार्यकर्ताहरु कांग्रेस इतर समूहतर्फ आकर्षित भइरहेका छन् । त्यस्तै नेपाली कांग्रेस धनुषा क्षेत्र नं. ४ अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका–२ मा सम्पन्न वडा अधिवेशनसमेत विवादमा परेको छ । अधिवेशन निर्धारित प्रक्रिया पूरा नगरी एकलौटी ढंगबाट सम्पन्न गरिएको भन्दै पार्टी नेतृत्वसमक्ष छानबिन र आवश्यक निर्णयका लागि निवेदन परेको छ ।

पार्टीका सम्बन्धित कार्यकर्ता तथा सदस्यहरूले दिएको निवेदनमा वडा अधिवेशनमा पार्टीको विधान, निर्वाचन निर्देशिका तथा केन्द्रीय निर्वाचन समितिले तोकेको प्रक्रियाको पालना भए–नभएको यकिन गर्न माग गरिएको छ । निवेदनमा क्रियाशील सदस्यहरूको सहभागिता, निर्वाचन प्रतिनिधिको उपस्थिति तथा निर्वाचन प्रक्रियाको वास्तविक अवस्थाबारे छानबिन गर्न आग्रह गरिएको छ । वडा अधिवेशनको क्रममा समेत सम्बन्धित पार्टीका क्रियाशील सदस्य तथा सरोकारवालाहरूको सहभागिता सुनिश्चित नभएको र निर्धारित प्रक्रिया पूरा नगरी अधिवेशन सम्पन्न गरिएको आरोप लगाइएको छ ।

यस्ता विषयले पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यास र आगामी तहका अधिवेशनमा समेत विवाद उत्पन्न हुनसक्ने भन्दै निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गरिएको छ । उजुरीकर्ताहरूले छानबिनबाट प्रक्रिया पूरा नभएको पुष्टि भए सम्बन्धित वडा अधिवेशनलाई आवश्यक प्रक्रिया पूरा गरी पुनः सम्पन्न गर्न माग गरेका छन्।

साथै आगामी अधिवेशनहरूमा यस्ता विवाद दोहोरिन नदिन निर्वाचन अधिकृत तथा सम्बन्धित पार्टी संरचनालाई स्पष्ट निर्देशन दिन पनि आग्रह गरिएको छ । पत्रमा सम्बन्धित निकायलाई घटनाको तथ्यगत छानबिन गरी पार्टीको विधान र निर्वाचनसम्बन्धी प्रचलित व्यवस्थाअनुसार आवश्यक निर्णय लिन अनुरोध गरिएको छ ।

Comment

Related News

Latest News

Trending News