कोशी नदीको बाढी सप्तरीका तटीय वस्तीका लागि वर्षेनी दोहोरिने विपत्ति बनेको छ । सुरक्षित बसोबासको अभावमा नदी किनार र तटबन्ध आसपास बस्दै आएका सुकुमवासी परिवार बाढी आउनासाथ घर छाडेर सडकपेटी, तटबन्ध र अग्ला स्थानमा आश्रय लिन बाध्य छन् ।
यस वर्ष पनि हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका गरी कम्तीमा ५ सय २३ परिवार बाढीबाट प्रभावित भएका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–७ मा पर्ने मुसहरीकी ४५ वर्षीया रामकुमारी सदा तीन दिनदेखि बालबालिकासहित सडकपेटीमा टाँगिएको त्रिपालमुनि रात काटिरहेकी छन् । बिहीबार आँगनमा पसेको पानी शुक्रबार भान्छासम्म पुगेपछि उनी घर छाड्न बाध्य भइन् । सडकभन्दा तल बाढी बगेकाले तीन जना साना बालबालिकालाई छाडेर खाना पकाउनसमेत नसकेको उनले बताइन् । शनिबार बालबालिकालाई चाउचाउ खुवाएर दिन कटाए पनि आफू भने भोकै सुत्नुपरेको उनको गुनासो छ ।
सदाका लागि यो पहिलोपटकको विपत्ति होइन । तीन पुस्तादेखि यही क्षेत्रमा बस्दै आएको उनको परिवार हरेक वर्ष कोशीको बाढीमा घर डुब्ने र सुरक्षित ठाउँ खोज्दै विस्थापित हुने गरेको छ । अन्यत्र जग्गाजमिन नभएकाले बाढीको जोखिम थाहा हुँदाहुँदै पनि यही बस्न बाध्य भएको उनी बताउँछिन् । चुनावका बेला सुरक्षित बसोबासको आश्वासन पाउने गरे पनि समस्या दशकौंदेखि जस्ताको तस्तै रहेको उनको भनाइ छ । मुसहरी टोलमा वडा नम्बर ७ र ५ का गरी २५ परिवार अहिले त्रिपालमुनि बसिरहेका छन् ।
बाढीले घरसँगै उनीहरूका चापाकलसमेत डुबाएको छ । ५८ वर्षीय शिवु सदा आधा डुबेको चापाकलको पानी पिउन बाध्य छन् । सुरक्षित बसोबासको माग गर्दै पुस्तौं बिते पनि आफूहरूको समस्या समाधान नभएको उनको गुनासो छ । कोशीको पश्चिमी तटबन्धभन्दा पूर्वतर्फका मुसहरी, सखुवा र गोबरगाढालगायत बस्तीमा वर्षेनी बाढीको जोखिम रहँदै आएको छ । विगतका बाढीमा पनि यी बस्तीका घर डुबानमा पर्ने, परिवार विस्थापित हुने, खाद्यान्न तथा पशुचौपायामा क्षति पुग्ने र दैनिक जीवन प्रभावित हुने गरेको स्थानीयको भनाइ छ । सुरक्षित बसोबासको स्थायी व्यवस्था नहुँदा बाढी घटेपछि परिवारहरू पुनः जोखिमयुक्त बस्तीमै फर्किनुपर्ने अवस्था छ ।
हनुमाननगर कंकालिनी नगरपालिका–१३ मा पर्ने गोबरगाढाका मात्रै १५० परिवारका घर पूर्ण रूपमा डुबानमा परेको नगरप्रमुख वीरेन्द्र माझीले बताए । टापुमा बसोबास गर्ने केही परिवारलाई वस्तीभन्दा पश्चिमतर्फ अग्लो स्थानमा निर्माण गरिएका १० वटा ‘टेन्ट हाउस’मा सारिएको छ । वर्षा र बाढीको पूर्वजानकारी पाएपछि परिवारहरूलाई सुरक्षित स्थानमा सार्न खोजिए पनि सबै स्थानान्तरण हुन तयार नभएको उनले बताए । माझीका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका–१२ का २ सय तथा वडा नम्बर ७ र ५ का १ सय ५४ परिवारका घर पनि डुबानमा परेका छन् ।
बाढीका कारण खाना पकाउनसमेत समस्या भएपछि नगरपालिकाले शनिबार साँझदेखि पुरानो नगरपालिका कार्यालय भवनमा निः शुल्क मेस सञ्चालन गरेको छ। बाढी प्रभावितलाई दिनमा दुई छाक खाना खुवाउने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । गत शुक्रबार गोबरगाढामा पाँच वर्षीय बालकको कोशीको बाढीमा डुबेर मृत्यु भएको नगरप्रमुख माझीले बताए । यस्तै, तिलाठी कोइलाडी गाउँपालिकाका वडा नम्बर ४ का ११ र वडा नम्बर ५ का ८ गरी १९ परिवारका घरमा पनि बाढी पसेको छ । कोशी नदीको पश्चिमी बाँध आसपासका घरमा पूर्ण रूपमा पानी पसेपछि प्रभावित परिवारलाई गाउँपालिकाले खाद्यान्नसहित राहत सामग्री वितरण गरिरहेको छ ।
पहिलो चरणमा प्रतिपरिवार २५ किलो चामल, ३ किलो भुजा, २ किलो चिउरा, १ लिटर तेल, नुन, भुजिया, चाउचाउ, त्रिपाल, झुल र ब्ल्यांकेटलगायत सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले बताए । बाढीको जोखिम कम गर्न सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वार्टर सप्तरीले कोशी तटीय क्षेत्रमा डीएमटी म्यानेजमेन्ट टिमका उद्धार टोलीलाई ‘हाई अलर्ट’ मा राखेको छ । तटीय तथा अन्य बाढी प्रभावित क्षेत्रमा ३२ जनाको डीएमटी टोलीसहित ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी उपरीक्षक नवीनसिंह राईले बताए । उद्धारका लागि दुई ¥याफ्टिङ र तीन मोटरबोट तयारी अवस्थामा राखिएका छन् ।
शनिबार रातिको तुलनामा आइतबार साँझ कोशीको पानीको बहाव केही घटे पनि तटीय वस्तीमा जोखिम भने कायमै छ । हरेक वर्ष बाढीपछि राहत र उद्धारमा ठूलो प्रयास हुने गरे पनि दीर्घकालीन सुरक्षित बसोबासको व्यवस्था नहुँदा सुकुमवासी परिवारको समस्या दोहोरिइरहेको छ । विगतका बाढीले घर, अन्नपात र जीविकोपार्जनमा पु¥याउँदै आएको क्षतिबाट पाठ सिक्दै जोखिमयुक्त वस्तीको स्थायी व्यवस्थापन र सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ ।



