स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असोज २० गतेदेखि देशभरका पालिकामा पुग्ने अभियान घोषणा गरेको छ।
रास्वपाका सांसद तथा केन्द्रीय सदस्यहरू ७७ जिल्लाका ७५३ वटै पालिकामा पुग्ने पार्टीले जनाएको छ। अभियानमार्फत स्थानीय नागरिकका समस्या र अपेक्षा सुन्नुका साथै सरकार र संसदबाट भएका कामबारे जानकारी गराउने तयारी छ।
पार्टीका अनुसार यो अभियानलाई केवल चुनावी तयारीका रूपमा मात्रै नलिई सरकार गठन भएयताका करिब ६ महिनाका काम, नीतिगत पहल र आगामी योजनाबारे नागरिकसँग संवाद गर्ने अवसरका रूपमा पनि अघि बढाइनेछ।
अभियानको अर्को प्रमुख विषय आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया रहनेछ। रास्वपाले स्थानीय नेतृत्वका लागि सक्षम र नेतृत्व लिन तयार व्यक्तिलाई कसरी छनोट गर्ने भन्नेबारे नागरिकलाई जानकारी गराउने छ।



