नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता अशोक कुमार यादव तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
सर्लाही जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तवको एकल इजलासले बुधबार यादवलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । जिल्ला अदालतको आदेश अनुसार तोकिएको धरौटी रकम बुझाएपछि यादव रिहा भएका छन् । नेता यादवविरुद्ध आपराधिक उपद्रव तथा कुटपिट गरी अंगभंग गरेको आरोपमा प्रहरीले मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउने क्रममा उनलाई पक्राउ गरिएको थियो ।
नेता यादवलाई गत भदौ २३ गते ललितपुरको धापाखेलबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि उनलाई सर्लाही ल्याइ आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो । जिल्ला अदालतमा भएको सुनुवाइपछि न्यायाधीश श्रीवास्तवको इजलासले नेता यादवलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएका छन् । जिल्ला अदालतको सो आदेश अनुसार धरौटी रकम बुझाएसँगै उनी हिर ासतबाट मुक्त भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले गत जेठ २५ गते कविलासी नगरपालिका–८ मा पर्ने अगर्वामा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि कुटपिट गरी घाइते बनाएको तथा प्रहरीको मोटरसाइकलसमेत तोडफोड गरेको घटनामा यादवलाई प्रतिवादी बनाइएको थियो । उक्त घटनापछि उनी फरार रहेको सर्लाही प्रहरीको भनाइ थियो । प्रहरीले यादवलाई गत भदौ २३ गते ललितपुर महानगरपालिका–२३ स्थित धापाखेलबाट पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाही र जिल्ला प्रहरी परिसर ललितपुरको समन्वयमा उनलाई पक्राउ गरी सर्लाही ल्याइएको थियो। पक्राउपछि सर्लाही जिल्ला अदालतबाट अनुसन्धानका लागि सुरुमा पाँच दिनको म्याद लिएर उनलाई प्रहरी हिरासतमा राखिएको थियो । यादवमाथि यसअघि पनि विभिन्न समयमा राज्यविरुद्धको कसुर, चोरीसम्बन्धी कसुर, केही सार्वजनिक अपराध, ज्यान मार्ने उद्योग, सार्वजनिक शान्तिविरुद्धको कसुर, आपराधिक प्रवेश तथा आपराधिक उपद्रव लगायतका विभिन्न कसुरमा अनुसन्धान भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।



