२०८३ आश्विन १५, बिहीबार १३:४९

चीनसँग व्यापारिक कारोबार हुने तीनवटै नाका बन्द हुँदा चीनसँगको आयात–निर्यातमा प्रत्यक्ष असर परेको छ ।

रसुवागढी, तातोपानी र कोरला नाका बन्द हुँदा चीनसँगको आयात–निर्यातमा प्रत्यक्ष असर परेको हो ।

गत भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण नेपाल–चीनको प्रमुख व्यापारिक नाका रसुवागढी पूर्ण रुपमा बन्द भएको थियो । त्यसको दुई दिनपछि, भदौ १२ गतेदेखि काठमाडौंसँग जोडिने नजिकको तातोपानी नाका पनि बन्द गरिएको जानकारी चीनले नेपाल सरकारलाई गराएको थियो ।

त्यसपछि असोज १२ गते कालीगण्डकी नदीमा आएको बाढीले सडक तथा पुलमा क्षति पु¥याएपछि कोरला नाकाबाट नेपाल भित्रिने मालवाहक सवारीसाधनसमेत रोकिएका छन् । काठमाडौं उपत्यकाबाट करिब १ सय ४ किलोमिटर दूरीमा रहेको तातोपानी नाका लामो समयदेखि बन्द हुँदा व्यापार व्यवसाय प्रभावित भएको छ । दसैँ, तिहार र छठजस्ता चाडपर्व नजिकिँदै गर्दा चीनबाट ल्याइने लत्ताकपडा, जुत्ताचप्पल, विद्युतीय तथा सजावटका सामग्रीको आयातमा समेत समस्या देखिएको व्यवसायीहरूले बताएका छन् ।

चीनसंगको सवै व्यपारिक नाका बन्द भएपछि तातोपानी नाका सञ्चालनका लागि सरकारले कूटनीतिक पहल अघि बढाएको छ । यही क्रममा परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काको नेतृत्वमा चिनियाँ दूतावासका प्रतिनिधिसहितको टोलीले अरनिको राजमार्गको स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा सडक डिभिजन चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले तातोपानीदेखि काठमाडौं जोड्ने अरनिको राजमार्गमा ठूला मालवाहक ट्रक तथा कन्टेनर सञ्चालन गर्न कुनै समस्या नरहेको बताउनुभयो ।

अरनिको राजमार्गको बाह्रबिसेदेखि कोदारीसम्मका विभिन्न खण्डमा पहिरो व्यवस्थापनको काम भइरहेको छ । वर्षाका कारण कुनै स्थानमा सडक अवरुद्ध भए पनि तत्काल यातायात सञ्चालनमा ल्याउन आवश्यक मेसिन तथा स्रोतसाधन तयारी अवस्थामा राखिएको सडक डिभिजन चरिकोटले बताएको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव खड्काको नेतृत्वमा भएको अनुगमनपछि तयार हुने प्रतिवेदनका आधारमा नेपाल सरकारले तातोपानी नाका सञ्चालनका लागि चीन सरकारसँग थप कूटनीतिक पहल गरेर दशै अघि नै तातोपानी नाका सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

 

Comment

Related News

Latest News

Trending News