२०८३ आश्विन १६, शुक्रबार ०७:१२

फोहोर व्यवस्थापनका लागि मधेस प्रदेशको राजधानी समेत रहेका जनकपुरधाम उपमहानगरपालिकाले स्थानीय तह गठन भएको ९ वर्षमा पनि डम्पिङ्ग साइट बनाउन सकेन, अब भाडामा जग्गा खोज्दैछन । सामान्य रुपमा यताउता फोहोर फालेर काम चलाउंदै आएका उपमहानगरले अब दिर्घकालिन व्यवस्थापनका लागि भाडामा जग्गा खोज्न शुरु गरेको छ । यसका लागि पछिल्लो पटक सूचना समेत प्रकाशन गरेको छ । डम्पिङ्ग साइट आभावमा नगरबाट निस्किएका फोहोर कयौं दिनसम्म सडक, चोक र बजार क्षेत्रमा व्यवस्थापन नभई दुर्गन्धित बनेको हुन्छ ।

जनकपुरधाम उपमहानगरपालिकाले नगरको फोहोर व्यवस्थापनका लागि विभिन्न स्थानमा स—साना निजी जग्गा भाडामा लिएर काम चलाउँदै आएको छ । तर, अस्थायी रूपमा प्रयोग गरिएका ती स्थान छोटो समयमै भरिँदा केही दिनमै अर्को नयाँ ठाउँ खोज्नुपर्ने बाध्यता दोहोरिँदै आएको छ । २०७९ सालको स्थानीय तह निर्वाचनअघि वर्तमान मेयर मनोजकुमार साहले फोहोर व्यवस्थापन र स्थायी डम्पिङ साइटलाई प्रमुख चुनावी मुद्दा नै राखेका थिए । सोही मुद्दामा उनले मत पनि राम्रै हासिल चुनाव पनि जिेत । तर उनी निर्वाचित भएको ४ वर्षमा पनि फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल (डम्पिङ्ग) साइत निर्माण गर्न सकेनन् । अब जाँदाजाँदै डम्पिङ्ग साइटका लागि जग्गा भाडामा खोज्न थालेका छन् ।

मेयर साहले पदभार ग्रहण गरेका दिन समेत फोहोर व्यवस्थापन सम्बन्धी निर्णय नै गरेका थिए । त्यसपछि वडास्तरबाट फोहोर उठाउने व्यवस्था नियमित हुँदै गए पनि संकलित फोहोर कहाँ र कसरी दीर्घकालीन रूपमा व्यवस्थापन गर्न सकेनन् । वर्षौँदेखि उस्तै समस्या यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनपछि मेयर बनेका लालकिशोर साहको कार्यकालमा पनि फोहोर व्यवस्थापनलाई नगरको प्रमुख समस्याका रूपमा उठाइएको थियो ।

त्यसअघि नै एसियाली विकास बैंकको सहयोगमा सञ्चालित एकीकृत सहरी विकास आयोजनाअन्तर्गत डम्पिङ साइट निर्माणका लागि बजेट छुट्याइएको थियो । नगराईनस्थित मनियारी चौरीको जग्गका लागि गुठी संस्थानलाई लाखौ रुपैया पेश्की पनि दिइएको थियो । तर राजनीतिक विवादे सो सफल नहुँदा ती रकम सखापसँगै एडीबीले छुटयाएको करिब ३५ करोड रुपैयाँ बराबरको बजेट समेत फ्रिज हुन गयो । अहिले पनि समस्या जग्गामै आएर अड्किएको कारणले अन्य दातृ निकायले पनि चाहेर पनि लगानी गर्न नचाहेको उपमहानगरपालिकाको भनाइ छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानहरि घिमिरेका अनुसार नगरभित्र डम्पिङ साइटका लागि आवश्यक जग्गा प्राप्त गर्न पटक–पटक प्रयास भए पनि सफल हुन सकेको छैन । उनका अनुसार जनकपुरधाम क्षेत्रमा ठूलो हिस्सा गुठीको जग्गा रहेकाले केन्द्रीय गुठी संस्थानसँग जग्गा उपलब्ध गराउन आग्रह गरिएको थियो । तर, जग्गा प्राप्त हुन नसकेपछि स्थायी डम्पिङ साइट निर्माणको योजना अघि बढ्न सकेन । घिमिरेका अनुसार व्यवस्थित डम्पिङ साइट निर्माणका लागि कम्तीमा १० बिघा जमिन आवश्यक हुन्छ ।

फोहोर विसर्जन मात्र नभई त्यसको प्रशोधनसमेत गर्नुपर्ने भएकाले पर्याप्त क्षेत्रफलको जग्गा खोज्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । उपमहानगरपालिकाको सरसफाइ शाखाका अनुसार जनकपुरधामका विभिन्न वडाबाट दैनिक ठूलो परिमाणमा फोहोर संकलन हुन्छ । टिपर तथा ट्र्याक्टरमार्फत दैनिक करिब ४० देखि ५० टिप फोहोर उठाइने गरिएको छ । तर संकलन गरिएको फोहोरका लागि स्थायी व्यवस्थापन स्थल नहुँदा सरसफाइ कर्मचारीलाई नै समस्या हुने गरेको शाखा प्रमुख श्याम ठाकुर बताउँछन् ।

उनका अनुसार पहिले मंगलोहिया पुल आसपास फोहोर विसर्जन गरिन्थ्यो। पछि सिक्स लेन सडकको दक्षिणतर्फको क्षेत्रमा फोहोर फाल्न थालियो। ती स्थानसमेत भरिएपछि अब नयाँ ठाउँ खोज्नुपर्ने अवस्था आएको छ । स्थायी डम्पिङ साइट निर्माण गर्न नसकेपछि उपमहानगरपालिकाले पुनः निजी जग्गा भाडामा लिने प्रक्रिया अघि बढाएको छ । पहिलो पटक आह्वान गरिएको सूचनामा इच्छुक जग्गाधनीबाट आवेदन नपरेपछि दोस्रोपटक सूचना प्रकाशित गरिएको हो ।

नगर क्षेत्रमा फोहोर व्यवस्थापनका लागि आवश्यक पर्ने जग्गा भाडामा लिन उपमहानगरपालिकाले प्रस्ताव मागेको छ । उपमहानगरपालिकाले नगरको नियमित सरसफाइमा बजेट खर्च गर्दै आएको छ । लेखा अधिकृत खगेन्द्र राईका अनुसार गत आर्थिक वर्षमा नगर सरसफाइका लागि करिब ९० लाख रुपैयाँ खर्च भएको थियो । दसैँ, दीपावली, छठ र विवाहपञ्चमीजस्ता ठूला पर्वका समयमा फोहोरको मात्रा बढ्ने भएकाले त्यसको व्यवस्थापनका लागि वडाहरूलाई थप बजेट उपलब्ध गराउने गरिएको छ ।

नियमित रूपमा एक सयभन्दा बढी सफाइकर्मी सरसफाइ कार्यमा परिचालित हुने गरेका छन् । तर बजेट खर्च भइरहे पनि फोहोरको अन्तिम व्यवस्थापनका लागि स्थायी संरचना नहुँदा खर्चको प्रभावकारिता र दीर्घकालीन समाधानमाथि प्रश्न उठ्दै आएको छ ।

Comment

Related News

Latest News

Trending News