नेपाली कांग्रेस संस्थापन पक्षले इतर पक्षलाई बेवास्ता गर्दै १५औं महाधिवेशन आइतबारदेखि काठमाण्डुको खुलामञ्चमा गर्ने भएको छ । देशका विभिन्न भागमा परेको अविरल वर्षा र त्यसबाट सिर्जित प्राकृतिक विपद्का कारण पूर्वनिर्धारित असोज १६ गतेको कार्यक्रम दुई दिन पछाडि सारिएको छ ।
महाधिवेशनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको कांग्रेसको सूचना, सञ्चार तथा प्रविधि समितिले जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै समितिका संयोजक एवं प्रवक्ता देवराज चालिसेले महाधिवेशनस्थल खुलामञ्चमा मञ्च निर्माण तथा बन्द सत्रका लागि विभिन्न हलको व्यवस्थापन तीव्र पारिएको जानकारी दिएका छन् । हालैको प्राकृतिक प्रकोपमा परी ठूलो जनधनको क्षति भएको र दर्जनौँ नागरिकले ज्यान गुमाएको परिवेशलाई मध्यनजर गर्दै पार्टीले यसपटक महाधिवेशनमा कुनै पनि भड्किलो प्रचारप्रसार नगर्ने निर्णय गरेको छ । ‘भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको प्राकृतिक विपद्मा परी अहिले पनि हजारौं मानिस हराइरहेका छन् । सयौँ घरपरिवार बिछोडिएको छ । सयौँ बालबालिका टुहुरा भएका छन्,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘यो परिवेशमा हुन लागेको महाधिवेशनमा प्रचारप्रसारका नाममा कुनै तामझाम नगर्ने निर्णय पार्टीले लिएको छ । कार्यक्रम स्थलमा एउटा मूल गेटबाहेक अरु कुनै प्रचार सामग्री सहर–बजारमा टाँगिनेने छैन । उपत्यकालगायत देशका प्रमुख शहर बजारमा रहेका करिब एक सय डिजिटल बोर्डबाट १५औँ महाधिवेशन सम्बन्धी सूचना र सन्देशहरु प्रवाह गर्न शुरु गरिएको छ ।’ पार्टीले महाधिवेशनका उम्मेदवारहरूलाई समेत डिजिटल माध्यमबाट मात्र प्रचारप्रसार गर्न आग्रह गरेको छ ।
यस्तो छ कार्यतालिका
१५ औँ महाधिवेशनमा ७ हजार ७ सयभन्दा बढी निर्वाचित प्रतिनिधिहरू सहभागी हुँदै छन् । केन्द्रीय निर्वाचन समितिले तयार पारेको कार्यतालिका अनुसार असोज १८ गते खुलामञ्चमा उद्घाटन सत्र हुनेछ भने असोज १९ र २० गते बन्द सत्र चल्ने छ । त्यस्तै, असोज २१ र २२ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्ने जनाइएको छ । प्रतिनिधिहरू देश तथा विदेशबाट काठमाण्डु आउने क्रम शुरु भइसकेको छ । आवास व्यवस्थापनका लागि हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट संयोजक तोकिएको र काठमाण्डुका विभिन्न क्षेत्र (एयरपोर्ट, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलंकी र नयाँ बसपार्क) मा बसोबासको प्रबन्ध मिलाइएको छ । आवास र यातायातको खर्च सहभागी स्वयम्ले व्यहोर्ने छन् भने भोजनको व्यवस्था भृकुटीमण्डपमा गरिएको छ ।
अतिथि र मिडिया सेन्टर
१५ औँ महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको छ । विज्ञप्तिमा जनाए अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत, श्रम संस्कृति पार्टीका महासचिव आरेन राईलगायतका शीर्षनेताको सहभागिता निश्चित रहेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय अतिथिहरूतर्फ सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा नेपालमा आइसकेको विज्ञप्तिमार्फत जनाइएको छ । कार्यक्रम स्थलमै प्राथमिक स्वास्थ्य उपचार केन्द्र र मिडिया सेन्टर स्थापना गरिएको चालिसेले जानकारी दिए । मिडिया सेन्टरबाटै १५ औँ महाधिवेशन अवधिभर हरेक दिन पत्रकार सम्मेलन आयोजना गरिने छ ।
संस्थापन इतर पक्षको सहभागितामाथि चासो
कांग्रेसको १५औँ महाधिवेशनको तयारी भइरहँदा पार्टीभित्रको आन्तरिक राजनीतिक समीकरणसमेत चर्चामा छ । संस्थापन पक्षले महाधिवेशनको तयारी तीव्र बनाइरहेको अवस्थामा संस्थापन इतर पक्षको गतिविधिलाई लिएर पनि राजनीतिक वृत्तमा चासो बढेको छ । यसैबीच निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष पनि १५औँ महाधिवेशनको तयारीमा जुटेको छ । देउवा पक्षले अहिले देशव्यापी रूपमा वडा तथा पालिका तहमा अधिवेशनको प्रक्रिया अघि बढाइरहेको जनाएको छ । पार्टीको तल्लो तहदेखि केन्द्रीय नेतृत्वसम्मको संरचना निर्माणका लागि वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशन महत्वपूर्ण हुने भएकाले यी प्रक्रियाले आगामी महाधिवेशनको नेतृत्व चयनमा प्रभाव पार्नेछ ।



