२०८३ आश्विन १७, शनिबार ०७:४९

मधेश प्रदेशमा उद्योग व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस) मार्फत अनलाइन उद्योग दर्ता तथा नवीकरणलगायतका सेवा औपचारिक रूपमा शुरु भएको छ ।

जनकपुरधाममा शुक्रबार उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिष पटेलले अनलाइन उद्योग दर्ता सेवाको उद्घाटन गर्दै अब उद्योगी तथा उद्यमीले सम्बन्धित कार्यालयमा पटक–पटक धाउनुपर्ने बाध्यता अन्त्य भएको बताएका छन् । मन्त्री पटेलले सेवाग्राहीले घरमै बसेर अनलाइनमार्फत उद्योग दर्ताका लागि आवश्यक प्रक्रिया पूरा गरी उद्योग सञ्चालन गर्न सक्ने व्यवस्था मधेश प्रदेशबाट शुरु गरिएको बताए । उनले अनलाइन प्रणालीबाट उद्योग दर्ता गर्न सकिने विषयलाई आम नागरिकसम्म पु¥याउन आवश्यक रहेको बताए ।

विदेशमा रोजगारीका लागि जान चाहने युवालाई लक्षित गर्दै मन्त्री पटेलले विदेश जानका लागि खर्च गर्ने रकमलाई आफ्नै गाउँठाउँमा साना तथा मझौला उद्योग स्थापना गर्न लगानी गर्न आग्रह गरे। अनलाइन सेवा शुरु भएसँगै उद्योगी तथा उद्यमीलाई सहज रूपमा सेवा उपलब्ध हुने उनले विश्वास व्यक्त गरे । उद्योग विभागकी महानिर्देशक रीया साहले मधेश प्रदेशका आठवटै जिल्लाबाट साना तथा मझौला उद्योग अनलाइनमार्फत दर्ता गर्न सकिने जानकारी दिइन् ।

महानिर्देशक साहले जनाए अनुसार उद्योग दर्ताका लागि अनलाइन फारम भरेपछि आवश्यक कागजातसमेत अनलाइनमार्फत अपलोड गर्नुपर्नेछ । प्राप्त विवरण र कागजातको आधारमा सम्बन्धित कार्यालयले प्रक्रिया अघि बढाउनेछ । दर्ता प्रक्रियाबारे सेवाग्राहीलाई सम्पर्क वा अनलाइन माध्यमबाट जानकारी गराइनेछ । दर्ताको अन्तिम चरणमा आवश्यक परे सम्बन्धित कार्यालयबाट उद्योग दर्ता प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिएको साहले बताइन् । उनले सेवाग्राहीका समस्या तथा गुनासा सम्बोधन गर्न सम्बन्धित कार्यालयमा सम्पर्क व्यक्ति तोक्ने तयारीसमेत भइरहेको जानकारी दिइन् । सम्पर्क व्यक्तिमार्फत सेवाग्राहीले अनलाइन उद्योग दर्तासँग सम्बन्धित समस्या तथा कठिनाइबारे जानकारी गराउन सक्ने व्यवस्था मिलाइने उनको भनाइ छ ।

Comment

Related News

Latest News

Trending News