अपडेट 
२०७७ जेष्ठ १०, शनिबार ०८:४८

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडाध्यक्ष श्यामबाबु चौरसिया निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिका – १६ का वडाध्यक्ष श्याम बाबु प्रसाद चौरसियालाई निलम्बित गरेको हो । उनी सहित ३ जना विरुद्ध राजस्व छली सम्बन्धी अभियोगपत्र दर्ता गरिएको छ ।

जग्गा खरिद बिक्री हुँदा गलत लिखत तयार गरेर राजस्वमा हानी पुर्याएको आरोपमा वडाध्यक्ष चौरसियासहित जग्गा खरिद र बिक्रीकर्ता विरुद्ध विशेष अदालत काठमाण्डुमा मुद्दा दायर भएको हो ।

वडाध्यक्ष चौरसियासहित जग्गा बिक्रीकर्ता जहराती मिया धुनिया र खरिदकर्ता गायत्री देवीविरुद्ध राजस्व छली सम्बन्धी आरोप पत्र शुक्रबार विशेष अदालतमा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

कम थैली रकम राख्दा जग्गा किनबेच गर्दा प्राप्त हुने रजिष्ट्रेसन दस्तुर ९४ हजार ८ सय ७५ र पुँजीगत लाभकर ८२ हजार ५ सय गरी १ लाख ७७ हजार ३ सय ७५ कम हुने गरी राजशव दाखिला गरी राजस्व हानी पुयाएको आरोपमा वडाध्यक्ष चौरसियासहित तीनैजनाविरुद्ध आरोप पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान प्रवक्ता प्रदिप कुमार कोईरालाले बताए ।

वडाध्यक्ष चौरसियाले जग्गा खरिद बिक्री हुने बेला घरबाटो सिफारिस गर्दा २८ फिटको पिच बाटो भएको सिफारिस पत्र नराखी १५ फीटको ग्राबेल बाटो भनी गलत लिखत तयार गरी घरबाटो सिफारिस गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

वडाध्यक्ष चौरसियाविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुरमा बिगो रु १ लाख ७७ हजार ३ सय ७५ कायम गरी सजायको माग दाबी लिइएको छ । जग्गा बिक्रीकर्ता जहराती मिया धुनियाविरुद्ध बिगो रु ८२ हजार ५ सय कायम गरि बिगो रकम असुल गरी जफत हुन मागदाबी लिइएको छ ।

यस्तै जग्गा खरिदकर्ता गायत्री देवीविरुद्ध बिगो स्वरुप रु ९४ हजार ८ सय ७५ कायम गरी बिगो रकम असुल गरी जफत हुन मागदाबी लिई विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ ।

Comment


Related News

Latest News

Trending News