नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । ‘नयाँ कांग्रेस, नयाँ संकल्प’ भन्ने मूल नारासहित कांग्रेसको महाधिवेशन आइतबार काठमाडौंको ऐतिहासिक खुलामञ्चमा भव्य समारोहका बीच उद्घाटन हुँदैछ ।
महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरू काठमाण्डु आउने क्रम जारी रहेको कांग्रेसले जनाएको छ । खुलामञ्चमा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत पार्टी प्रवक्ता देवराज चालिसेले महाधिवेशनको तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार महाधिवेशनमा ५० हजारभन्दा बढी युवासहित सात हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ । प्रतिनिधिहरूको दर्ता प्रक्रिया शनिबारदेखि नै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुरु भएको छ ।
प्रत्येक प्रदेशका लागि छुट्टाछुट्टै दर्ता कक्षको व्यवस्था गरिएको छ । प्रतिनिधिले तीन हजार पाँच सय रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ । दर्तापछि प्रतिनिधिहरूलाई महाधिवेशनको झोला उपलब्ध गराइनेछ । झोलामा पार्टीको विधान, कापी, कलमलगायत सामग्री राखिएको छ । प्रतिनिधिहरूको बसोबास व्यवस्थापनका लागि निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशस्तरमा संयोजक तोकिएको छ । आवास, भोजन तथा अन्य आवश्यक जानकारी क्यूआर कोड, एसएमएस, ह्वाट्सएप तथा एआई नम्बरमार्फत उपलब्ध गराउने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ । महाधिवेशनको उद्घाटनका लागि खुलामञ्चमा केही दिनदेखि मञ्च निर्माण, कुर्सी व्यवस्थापन, झन्डा तथा अन्य सजावटका काम तीव्र पारिएको थियो ।
शनिबार बिहानैदेखि पनि उद्घाटन समारोहको तयारी जारी थियो । कांग्रेसले खुलामञ्चलाई नेपालको लोकतान्त्रिक आन्दोलनसँग जोडिएको ऐतिहासिक स्थलका रूपमा व्याख्या गरेको छ । प्रवक्ता चालिसेले जनाए अनुसार २०३६ सालको जनमतसंग्रहका सन्दर्भमा बीपी कोइरालाले यही भूमिबाट ऐतिहासिक सार्वजनिक सम्बोधन गरेका थिए । त्यसैगरी २०४६ सालको राजनीतिक परिवर्तनका लागि गणेशमान सिंहले पनि खुलामञ्चबाट आन्दोलनको उद्घोष गरेको कांग्रेसको भनाइ छ । यही ऐतिहासिक पृष्ठभूमिलाई ध्यानमा राखेर १५औँ महाधिवेशनको उद्घाटन खुलामञ्चमा गर्न लागिएको हो । कांग्रेसले यसपटकको महाधिवेशनलाई केवल नेतृत्व चयनमा सीमित नगरी ‘नीति चयन’को महाधिवेशनका रूपमा अघि बढाउने जनाएको छ ।
प्रवक्ता चालिसेका अनुसार बन्दसत्रमा पार्टीको आगामी राजनीतिक, आर्थिक, सामाजिक तथा सांगठनिक दिशाबारे विस्तृत छलफल हुनेछ । सभापति गगन थापाले आगामी पाँच वर्षका लागि कांग्रेसले लिने राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी तथा परराष्ट्र नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । उपसभापति विश्वप्रकाश शर्माले पनि समसामयिक विषयमा प्रतिवेदन प्रस्तुत गर्नेछन् । महाधिवेशनको उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदनमाथि भूगोलका आधारमा प्रतिनिधिहरूलाई समूह विभाजन गरी तीन फरक हलमा डिजिटल बोर्डमार्फत छलफल गराउने तयारी छ ।
नेतृत्व चयनका लागि भने निर्वाचन प्रक्रिया अघि बढाइनेछ । निर्वाचन समितिले असोज १९ गते अपराह्न २ बजेदेखि ६ बजेसम्म राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयन दर्ताको समय तोकेको छ । प्रवक्ता चालिसेले जनाए अनुसार उम्मेदवारी मनोनयन सुरु हुनुअघि नै विधान संशोधनसम्बन्धी निर्णय गरिसक्ने तयारी छ। नेतृत्व चयनमा मतपत्रमार्फत निर्वाचन हुने कांग्रेसले जनाएको छ । असोज २१ र २२ गते निर्वाचन प्रक्रियामा प्रतिनिधिहरू सहभागी हुने कार्यक्रम छ ।
महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसले पदाधिकारी संख्या बढाउने विषयमा समेत छलफल अघि बढाएको छ । हाल कांग्रेसमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई तथा विभिन्न आठ क्लस्टरबाट आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। विधान संशोधनमार्फत दुई उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री थप्ने विषयमा छलफल भइरहेको बताइएको छ । युवा तथा महिला प्रतिनिधित्व बढाउनुपर्ने सुझाव पनि विधान संशोधन समितिमा आएको छ । यद्यपि प्रस्तावित संशोधनलाई अन्तिम रूप दिएर महाधिवेशनबाट अनुमोदन गरेपछि मात्र त्यसको कार्यान्वयनबारे टुंगो लाग्नेछ ।
महाधिवेशनमा पहिलोपटक ३५ वर्षमुनिका युवा, लोकतन्त्र सेनानी, श्रमिक, पेसागत समूह तथा प्रवासमा रहेका नेपालीलाई समेत केन्द्रीय समितिमा प्रतिनिधित्वको अवसर दिने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ । यसले पार्टीको संगठनात्मक संरचनामा नयाँ समूहको सहभागिता बढाउने उद्देश्य राखेको छ । प्रतिनिधि तथा शुभेच्छुकका लागि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र पुरानो बसपार्क क्षेत्रमा निजी सवारीसाधन पार्किङको व्यवस्था गरिएको छ ।
ठूला बसका लागि माइतीघरदेखि भद्रकाली खण्डको एक लेन छुट्याइएको छ । महाधिवेशनका गतिविधिलाई नियमित रूपमा सार्वजनिक गर्न मिडिया सेन्टर स्थापना गरिएको छ । प्रवक्ता चालिसेले जनाए अनुसार महाधिवेशन अवधिभर नियमित मिडिया ब्रिफिङमार्फत कार्यक्रम, निर्णय र प्रगतिबारे जानकारी दिइनेछ ।
कांग्रेसले १५औँ महाधिवेशनमार्फत नेतृत्वसँगै आगामी पाँच वर्षको राजनीतिक, आर्थिक तथा संगठनात्मक दिशासमेत तय गर्ने लक्ष्य राखेको छ । ऐतिहासिक खुलामञ्चबाट आइतबार शुरु हुने महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीको नीति, कार्यक्रम र संगठनात्मक संरचनाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।



