वीरगन्ज–रक्सौल जोड्ने मितेरी पुलबाट ११ किलोभन्दा बढी लागूऔषध चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। भारततर्फ ठूलो परिमाणमा लागूऔषध लैजान खोजिएको अवस्थामा भारतीय प्रहरी र सशस्त्र सीमा बल ९एसएसबी०को संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
भारतीय प्रहरीका अनुसार विशेष सूचनाका आधारमा एसडीपीओ मनिष कुमार आनन्दको कमाण्डमा परिचालित प्रहरी र एसएसबीको टोलीले शनिबार साँझ वीरगन्जबाट रक्सौलतर्फ जाँदै गरेको शंकास्पद ई–रिक्सा रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा रिक्साभित्र रहेको बोराबाट २२ वटा कालो प्याकेटमा प्याक गरिएको ११ किलो २४६ ग्राम चरेस बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–छपकैया निवासी ३९ वर्षीय अमर चौधरी रहेका छन्। एसएसबीका अनुसार उनलाई बरामद चरेससहित आवश्यक कानुनी कारबाहीका लागि रक्सौलस्थित हरैया थानाको जिम्मा लगाइएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार बरामद चरेस मकवानपुरका विभिन्न स्थानबाट ल्याएर बारा र पर्सा हुँदै भारततर्फ लैजान खोजिएको देखिएको भारतीय प्रहरीले जनाएको छ।
सीमामा बरामदगी, नेपालतर्फ निगरानीमाथि प्रश्न
मितेरी पुलजस्तो अत्यन्त संवेदनशील सीमा नाकाबाट ११ किलोभन्दा बढी चरेस बरामद हुनु केवल एक व्यक्तिको पक्राउमा सीमित विषय होइन। यसले लागूऔषध ओसारपसारका लागि नेपाल–भारत सीमालाई प्रयोग गर्ने प्रयास अझै सक्रिय रहेको संकेत गर्छ।
विशेषगरी मकवानपुरबाट बारा–पर्सा हुँदै वीरगन्जसम्म लागूऔषध ल्याएर भारतीय सीमा पार गराउने प्रयास भएको प्रारम्भिक विवरणले आपूर्ति शृंखलादेखि सीमा पार गर्ने बिन्दुसम्म सुरक्षा संयन्त्रबीच थप समन्वय र निगरानी आवश्यक रहेको देखाउँछ।
भारतीय सुरक्षा निकायले मितेरी पुलमै ठूलो परिमाणको चरेस बरामद गरे पनि यस्तो परिमाणको लागूऔषध नेपाली भूभाग हुँदै सीमासम्म कसरी आइपुग्यो भन्ने पक्ष पनि अनुसन्धानको महत्वपूर्ण विषय बन्न सक्छ। सीमामा मात्र कडाइ बढाउनुका साथै लागूऔषधको स्रोत, ओसारपसारमा संलग्न समूह र नेपालभित्रको नेटवर्क पहिचान गर्न सके मात्रै यस्तो तस्करी नियन्त्रणमा प्रभावकारी परिणाम आउन सक्छ।



