मधेश प्रदेशमा लागूऔषध नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाइरहेका बेला धनुषा र सिरहाबाट लागू औषध ब्राउन सुगर (खैरो हिरोइन) सहित सहित दुईजनालाई पक्राउ गरेको छ ।
प्रहरीले जनकपुरधामबाट १६१ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको छ। लागूऔषध ओसार पसारमा संलग्न रहेको आशंकामा प्रहरीले मोटरसाइकलसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शनिवार दिउँसो करिब ४ः२० बजे जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित बाबा पेट्रोल पम्प अगाडि प्रहरीले चेकजाँचका क्रममा उक्त पदार्थ बरामद गरेको हो ।
धनुषा प्रहरीले जेठ २३ गतेदेखि असोज १५ गतेसम्म मात्रै लागू औषध नियन्त्रण अभियान अन्तर्गत ३१ जनालाई पक्राउ गरेको हो । सो क्रममा प्रहरीले ४७५।५१६ किलो, ब्राउन सुगर ४२३.१ ग्राम, नाइट्रोभेट ट्याबलेट ८१० पिस र डाइजिपाम इन्जेक्सन २ हजार ४८७ एम्पुल बरामद गरेको छ । प्रहरीले जिल्लाबाट ३९ जना लागू औषध सेवनकर्तार्ला सुधारात्मक कारवाही गरेको जनाइएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार शुक्रबार राति जिल्ला सिरहा, कर्जन्हा नगरपालिका वडा नम्बर २ बन्दीपुर स्थित पूर्वपश्चिम राजमार्गमा लागूऔषध ब्राउन सुगरको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा धनगढीमाई नगरपालिका वडा नम्बर ७ बस्ने २० वर्षिय अजय कुमार यादवलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिम पोखरा तर्फ जाँदै गरेको गण्डकी प्रदेश ०१–००१ ख ०२२१ नम्बरको यात्रुवाहक बस रोकी चेकजाँच गर्दा उक्त बसमा सवार यादवले लगाएको जिन्स पाइन्टको बायाँ खल्तीमा कालो प्लास्टिकमा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध ब्राउन सुगर फेला परेको हो । उनका साथबाट १० ग्राम ४१० मिलिग्राम ब्राउन सुगर र मोबाइल बरामद भएको प्रहरीले जनाएको छ । लागूऔषध ब्राउन सुगर सहित अभियुक्तलाई इलाका प्रहरी कार्यालय मिर्चैया सिराहामा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।



