सन्तानको दीर्घायु, सुख, समृद्धि र स्वास्थ्यको कामनाका साथ मिथिलाञ्चल क्षेत्रसहित तराई मधेशमा महिलाहरुले मनाउने जितिया पर्व आइतवार विधिपूर्वक समापन भएको छ । असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने यो पर्व शुक्रबारदेखि सुरु भई आइतवार बिहान ८ बजे पारण गरी सम्पन्न भएको हो ।
व्रती महिलाहरु शुक्रवार नहाय खाय गरी व्रतको विधिपूर्वक सुरुवात गरेका थिए भने शनिवार बिहान ५ बजे अघि गरिएको ओँगठनदेखि आइतवार बिहान ८ बजेसम्म निराहार व्रतमा बसेकी थिइन । जितियालाई ‘जीवितपुत्रिका व्रत’ पनि भनिन्छ । धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै निराहार व्रत बस्ने गर्छन् । व्रत बसेमा सन्तानलाई दुःख, पीडा तथा विभिन्न समस्याबाट जोगाउन सकिने विश्वास रहँदै आएको छ ।
जितिया पर्वको पहिलो दिन व्रतालु महिलाहरू नजिकैका पोखरी, तलाउ वा जलाशयमा स्नान गरी घिरौँलाको पातमा तोरीको तेल, सिन्दूर, तोरीको पिना (खैरी) तथा फूललगायत सामग्री चढाएर ‘नहाय– खाय’ विधि पूरा गर्छिन । व्रतको पूर्वसन्ध्यामा माछा तथा कोदो (मरुवा) खाने परम्परा रहेको छ । त्यसपछि अघिल्लो दिन एकाबिहानै दही–च्युउरा र खीरा सहितका फलफूलको प्रसाद घिरौलाको पातमा सासु र आमा लगायतका दिवंगत महिलाहरुलाई प्रसाद चढाएर पूजा गर्दै ओँगठन गरिन्छ । तत्पश्चात सोही दिनदेखि अघिल्लो दिन पारणसम्म निराहार व्रत बस्ने गर्छिन । व्रत बसेका दिन अष्टमी तिथिमा रातिमा जिमुतवाहन र चुल्हो सियारोको कथा सुन्ने प्रचलन छ ।
त्यसपछि अघिल्लो दिन नवमी तिथिका दिन पुनः घिरौलाको पातमा चामल र अंकुरीको प्रसाद सामाग्री ती दिवगंत सासु र आमालाई पुरा गर्दै पारण गरी समापन गरिन्छ । व्रत अवधिमा पानी खानसम्म त परौ जाओस थुक निल्न पनि वर्जित भएका कारण यसलाई निकै कठिन पर्वको मानिएको छ । त्यसैले मैथिलीमा एउटा कहावत छ ‘जितिया पावैन बड भारी, धियाप’ताको ठोकिठाक सुतैलौँ अपने खैली भरि थारी ।’ जनकपुरधाम ४ कि गिरजा देवी भन्छिन ‘सन्तानको दिर्घायु, स्वास्थ्य र समृद्धिका लागि गरिने जितिया व्रत निकै कठिन मानिएको छ । निर्धारित विधि र परम्परा पालना गर्दै उपवास बस्ने गरिन्छ । यसवर्ष पर्वमा पानी त थुकसम्म निल्न वर्जित मानिएको छ ।’ मैथिल समुदाय मात्रै होइन तराई मधेशमा थारू समुदाय समेतले विशेष महत्वका साथ मनाउने गर्छन । तिनीहरु पनि मैथिल सुमदाय जस्तै जितियामा जिमुतवाहन देवताको पूजा गर्ने तथा जितियासँग सम्बन्धित धार्मिक कथा सुन्ने गर्छन ।
पूजाका क्रममा फलफूललगायत सामग्रीले डाली भर्ने परम्परा पनि थारु समुदायमा रहेको छ । जितिया धार्मिक आस्था मात्र नभई तराई– मधेसका विभिन्न समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको प्रतीकका रूपमा समेत मनाइँदै आएको छ ।



