पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा–सिरहा जिल्ला जोड्ने कमला नदीमाथिको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि अलपत्रजस्तै बनेको पुलको पुनःनिर्माणले गति लिएसँगै आगामी मङ्सिर महिनादेखि पुल सञ्चालनमा ल्याउने तयारी गरिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले जनाएको छ ।
कार्यालय प्रमुख कृष्णकुमार महतोले जनाए अनुसार पुलको १० नम्बर पिलर उठाउने काम सम्पन्न भइसकेको छ भने अहिले सुपर ढलानको काम भइरहेको छ । पुलको फाउण्डेसनसहित तीनवटा पिलरको सबलीकरण तथा ढलानको कामसमेत अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । पुल निर्माणका बाँकी कामलाई तीव्रता दिइएको र पुलका दुवैतर्फ पुग्ने सडकमा माटो भर्ने कामसमेत सम्पन्न भइसकेकाले मङ्सिरदेखि आवागमन सञ्चालन गर्ने तयारी भइरहेको महतोले बताए ।
कमला नदीमाथिको उक्त पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आउने तयारी भइरहेका बेला विसं २०७८ असारमा आएको बाढीले पुलको पिलरमा क्षति पु¥याएको थियो । बाढीका कारण पिलर भाँचिएपछि पुल जीर्ण अवस्थामा पुगेको थियो । पुलमा क्षति पुगेपछि पुनःनिर्माणमा लामो समय लाग्दा धनुषा–सिरहाका स्थानीय बासिन्दाले प्रत्यक्ष समस्या भोग्दै आएका थिए । हुलाकी राजमार्गको महत्वपूर्ण संरचनाका रूपमा रहेको पुल सञ्चालनमा नआउँदा नदी पार गर्न स्थानीयवासीले लामो समयसम्म डुंगाको सहारा लिनुपर्ने अवस्था थियो ।
विशेषगरी वर्षायाममा कमला नदीमा पानीको बहाव बढ्दा आवतजावत थप जोखिमपूर्ण हुने गरेको थियो । पुल निर्माणमा भएको ढिलाइले स्थानीय बासिन्दाको दैनिक आवागमन, व्यापार–व्यवसाय तथा कृषि उपजको ओसारपसारसमेत प्रभावित हुँदै आएको थियो । अब पुनःनिर्माण अन्तिम चरणमा पुगेपछि भने धनुषा, सिरहा तथा आसपासका क्षेत्रका बासिन्दाले सहज यातायातको सुविधा पाउने अपेक्षा गरिएको छ । कमला पुल निर्माणको मूल ठेक्का विसं २०६८ मा पप्पु–लुम्बिनी जेभीले पाएको थियो ।
बाढीबाट पुलमा क्षति पुगेपछि अहिले सोही निर्माण कम्पनीले पुलको पुनःनिर्माणको काम गरिरहेको छ । पुलका क्षतिग्रस्त संरचनाको सबलीकरण, पिलर निर्माण तथा ढलानलगायत कामलाई प्राथमिकतामा राखेर निर्माण अघि बढाइएको कार्यालयले जनाएको छ । निर्माणका क्रममा देखिएका प्राविधिक तथा व्यवस्थापकीय समस्या समाधान गर्दै कामलाई गति दिइएको कार्यालयले जनाएको छ । कमला पुलसँगै पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत मधेस प्रदेशका विभिन्न जिल्लामा सडक तथा पुल निर्माणको काम पनि तीव्र रूपमा अघि बढिरहेको छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका अनुसार सिरहादेखि सर्लाहीसम्मको ४०६ दशमलव ४३ किलोमिटर सडकखण्डमध्ये हालसम्म ३४७ दशमलव ६३ किलोमिटर सडक कालोपत्र भइसकेको छ । यस सडकखण्डमा पर्ने २४ वटा पुलको निर्माणसमेत सम्पन्न भइसकेको छ । कार्यालयका सूचना अधिकारी रञ्जितकुमार रायले सिरहामा कूल ५७ दशमलव ५२ किलोमिटर हुलाकी सडक रहेकामा २९ दशमलव ९८ किलोमिटर निर्माण सम्पन्न भएको जानकारी दिए । अझै २७ दशमलव ४६ किलोमिटर सडक निर्माणाधीन अवस्थामा छ ।
हुलाकी राजमार्गको निर्माणलाई आर्थिक वर्ष २०८२/८३ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर राजमार्गको सीमाभित्र रहेका घरटहरा हटाउन ढिलाइ हुनु, विभिन्न स्थानमा जग्गासम्बन्धी विवाद हुनु तथा अन्य स्थानीय समस्या देखिनुका कारण केही स्थानमा निर्माण प्रभावित भएको कार्यालय प्रमुख महतोले बताए । निर्माणाधीन सडकखण्डमा देखिएका अवरोध हटाएर बाँकी काम समयमै सम्पन्न गर्ने प्रयास भइरहेको उनको कथन छ । पूर्व–पश्चिम हुलाकी राजमार्गलाई नेपालकै पुराना र महत्वपूर्ण राजमार्गमध्ये एक मानिन्छ ।
मधेश प्रदेशका आठवटै जिल्लालाई पूर्व–पश्चिम रूपमा जोड्ने भएकाले यो राजमार्गलाई मधेशको आर्थिक तथा सामाजिक विकाससँग प्रत्यक्ष जोडेर हेर्ने गरिएको छ । सडक तथा पुल निर्माण सम्पन्न हुँदै गएपछि विगतमा दुर्गम मानिएका ग्रामीण क्षेत्र अहिले क्रमशः सहज सडक सञ्जालमा जोडिन थालेका छन् । हुलाकी सडक सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रबाट बजारसम्म कृषि उत्पादन पु¥याउन, बजारबाट आवश्यक सामग्री गाउँसम्म लैजान तथा शिक्षा, स्वास्थ्य र रोजगारीका लागि आवतजावत गर्न सहज हुने छ । कमला पुल सञ्चालनमा आएपछि धनुषा र सिरहाबीचको यातायात सम्बन्ध थप सहज हुनेछ । पुलले दुई जिल्लाका स्थानीय बजार, कृषि क्षेत्र तथा सेवा केन्द्रबीचको पहुँच विस्तार गर्नुका साथै पूर्व–पश्चिम आवागमनलाई समेत सहज बनाउनेछ ।
हुलाकी सडक र यसअन्तर्गतका पुल निर्माण सम्पन्न हुँदै जाँदा मधेस प्रदेशको व्यापार, कृषि, पर्यटन तथा अन्य आर्थिक गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ । सडक पूर्वाधारको विस्तारसँगै स्थानीय उत्पादनले बजार पाउने, यातायात लागत घट्ने र निजी क्षेत्रको लगानी बढ्ने सम्भावना पनि देखिएको छ ।


