नेपाली कांग्रेसको १५औँ महाधिवेशन अब विचार, नीति र भाषणको चरण पार गरेर निर्णायक मोडमा पुगेको छ । चार दिनसम्म चलेको महाधिवेशनमा नेतृत्वको कार्यदिशा, पार्टीको आन्तरिक लोकतन्त्र, संगठन सुदृढीकरण र बदलिँदो राजनीतिक परिस्थितिबारे बहस भएको छ ।
बन्दसत्रमा उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरेका प्रतिवेदन पारित भएसँगै कांग्रेसले अब बहसलाई मतपत्रमार्फत निष्कर्षमा पु¥याउने भएको छ । काठमाण्डुमा बिहीबार बिहान १० बजेदेखि हुने मतदानले आगामी कांग्रेसको नेतृत्व मात्र चयन गर्दै पार्टीभित्र पछिल्लो समय विकसित शक्ति सन्तुलनको समेत फैसला गर्नेछ । देशभरबाट आएका ७ हजार २५५ महाधिवेशन प्रतिनिधिको मत अब निर्णायक बनेको छ । महाधिवेशनको प्रारम्भिक चरणमा कांग्रेसले आफ्नो राजनीतिक दिशा र संगठनात्मक अवस्थामाथि आत्मसमीक्षा गरेको छ । सभापति गगनकुमार थापाले पार्टीलाई गुटगत राजनीतिभन्दा माथि उठाएर जनतासँग जोड्ने तथा राष्ट्रिय राजनीतिमा नयाँ विश्वास निर्माण गर्ने सन्देश दिए । उपसभापति विश्वप्रकाश शर्माको प्रतिवेदनले लोकतान्त्रिक संस्कृतिमा देखिएको क्षय र कांग्रेसले आफूलाई जनताको विश्वास र भरोसाको पार्टीका रूपमा पुनःस्थापित गर्नुपनेमा जोड दिए । महामन्त्री गुरुराज घिमिरेको प्रतिवेदनले संगठनलाई थप बलियो, व्यवस्थित र लोकप्रिय बनाउने नीति अघि सारेको छ ।
चौथो दिनसम्म आइपुग्दा यी दस्तावेज पारित भएका छन् । तर महाधिवेशनको सबैभन्दा ठूलो परीक्षा भने बिहीबार मतपत्रको माध्यमबाट हुँदैछ । महाधिवेशनको चुनावी मैदानमा उम्मेदवारी फिर्ता र समर्थनले नयाँ समीकरण बनाएको छ । सभापतिका उम्मेदवार किशोरसिंह राठौरले गगन थापालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि सभापतिको प्रतिस्पर्धा मुख्यतः थापा र श्यामकृष्ण खड्गीबीच केन्द्रित भएको छ । खुला उपसभापतिको प्रतिस्पर्धामा पनि उम्मेदवारी फिर्ताको प्रभाव परेको छ । देवराज चालिसेले थापाको आग्रहमा उम्मेदवारी फिर्ता लिए । यसअघि डा. मिनेन्द्र रिजालले पनि उपसभापतिको उम्मेदवारी फिर्ता गर्ने निर्णय गरेका थिए । यसले चुनावी प्रतिस्पर्धाल र मतको राजनीतिकलाई समेत ध्रुवीकरण गरेको चर्चा हुन थालेको छ । अब प्रतिनिधिको व्यक्तिगत सम्बन्ध, प्रदेशगत प्रभाव, विगतको राजनीतिक सहकार्य र नेतृत्वप्रतिको विश्वासले परिणाममा कति असर गर्छ भन्ने प्रतीक्षाको विषय बनेको छ ।
मधेश : पदाधिकारीको चुनावमा सबैभन्दा ठूलो परीक्ष
कांग्रेसको केन्द्रीय नेतृत्व चयनमा मधेशको मत यसपटक पनि महत्वपूर्ण बन्ने देखिन्छ । मधेशबाट पदाधिकारी तहमा उम्मेदवारी दिएका नेताहरूबीचको प्रतिस्पर्धाले प्रदेशभित्रको आन्तरिक शक्ति सन्तुलनको संकेतसमेत दिनेछ । उपसभापतिमा डा. चन्द्रमोहन यादव, फरमुल्लाह मन्सुर र रञ्जित कर्ण मैदानमा छन् । तर मधेशी सहमहामन्त्रीको एक पदमा देखिएको प्रतिस्पर्धा अझ रोचक छ । एक पदका लागि आठ जना उम्मेदवार मैदानमा छन् । महेन्द्र यादव, अजयकुमार चौरासिया, अभिषेकप्रताप शाह, किरण यादव, नागिना यादव, मनिषकुमार मिश्र, मुक्ताकुमारी यादव र रामपल्टन साहबीच प्रतिस्पर्धा हुँदैछ । आठ आकांक्षीमध्ये एक जनाले मात्र बाजी मार्ने भएकाले यो पदको निर्वाचनलाई मधेशमा कांग्रेसको शक्ति परीक्षणका रूपमा हेरिएको छ । जिल्लागत संगठन, प्रतिनिधिसँगको सम्बन्ध र प्रदेशभित्रको राजनीतिक समीकरण पनि निर्णायक हुन सक्ने अनुमान गरिँदैछ । मधेशको परिणामले केन्द्रीय नेतृत्वमा कसको प्रभाव कति छ भन्ने संकेतसमेत दिनेछ ।
मतदानस्थल तीन, प्रतिनिधि ७ हजार २५५
बिहीबार बिहान १० बजेदेखि मतदान शुरु हुनेछ । वर्षा र केही प्राविधिक कारणले यसअघि तोकिएको बिहान ७ बजेको समय तीन घण्टा पछि सारिएको छ । काठमाण्डुको राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा सात मतदान केन्द्र तोकिएको छ । बागमतीका प्रतिनिधिले राष्ट्रिय सभागृहमा, कोशी, मधेश, कर्णाली र सुदूरपश्चिमका प्रतिनिधिले खुलामञ्चमा तथा गण्डकी र लुम्बिनीका प्रतिनिधिले प्रज्ञा भवनमा मतदान गर्नेछन् । मतदानअघि प्रतिनिधिको परिचय र मतदाता नामावली रुजु गरिनेछ । त्यसपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ । बन्दसत्रको समापन कार्यक्रममा बोल्दै सभापति थापाले ‘आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन’ भन्ने घोषणा गरिसक्नुभएको छ । अब त्यस घोषणालाई प्रतिनिधिको मतले कति अनुमोदन गर्छ, त्यसको जवाफ बिहीबारको मतदानले दिनेछ ।


