२०८३ आश्विन २३, शुक्रबार १७:३०

रौतहट प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि असोज २० गतेसम्म भन्सार छलीका सामान बरामद गरी ५७ लाख ५३ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। यस अवधिमा विभिन्न मुद्दाका १३५ जना प्रतिवादी पक्राउ परेका छन् भने सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० सिताराम रिजालले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको प्रगति विवरणअनुसार समीक्षा अवधिमा २५१ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये १५६ वटा फर्छ्योट भएका छन् भने ९५ वटा अनुसन्धानकै क्रममा छन्।

१८१ दुर्घटना, ३६५ जना घाइते

साउनदेखि असोज २० गतेसम्म जिल्लामा १८१ वटा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने ३६५ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधन तथा चालकविरुद्ध २४८ वटा कारबाही गरी २० लाख ६७ हजार रुपैयाँ राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ।

लागुऔषधसम्बन्धी पाँच मुद्दामा छ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट पाँच किलो १६५ ग्राम गाँजा, १५ ग्राम १६५ मिलिग्राम ब्राउनसुगर र ७१ पिस मनोद्वीपक पदार्थ बरामद गरिएको छ।

अवैध कारोबारविरुद्ध कारबाही

भन्सार छली नियन्त्रणका क्रममा सात जना पक्राउ परेका छन् भने पाँचवटा सवारीसाधन नियन्त्रणमा लिइएका छन्। यसबाट ५७ लाख ५३ हजार ३६३ रुपैयाँ राजस्व संकलन भएको विवरणमा उल्लेख छ। त्यस्तै, अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न २६ वटा सवारीसाधन र आठ जनामाथि कारबाही गरी एक लाख ४५ हजार ५०० रुपैयाँ राजस्व उठाइएको छ। अवैध काठ ओसारपसारविरुद्धको कारबाहीमा चारवटा साइकल र तीनवटा ट्र्याक्टर नियन्त्रणमा लिइएका छन्। प्रहरीले २३१ घनफिट काठ बरामद गर्नुका साथै तीन जनालाई पक्राउ गरेको छ। उक्त कारबाहीबाट दुई लाख ६७ हजार ४५ रुपैयाँ राजस्व संकलन भएको छ।

६६६ उजुरीमध्ये ५७२ समाधान

नागरिकका गुनासा सम्बोधन गर्ने क्रममा ६६६ वटा ठाडो उजुरी दर्ता भएकामा ५७२ वटा समाधान भएका छन्। बाँकी ९४ वटा उजुरी प्रक्रियामा रहेका छन्। फैसला कार्यान्वयनतर्फ पक्राउ परेका १३५ जना प्रतिवादीबाट ६६ लाख ६३ हजार ९७० रुपैयाँ जरिवाना असुल गर्नुपर्ने तथा ६७ वर्ष एक महिना चार दिन कैद भुक्तान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

दरबन्दीभन्दा ८५ प्रहरी कम

एक हजार १२६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रौतहटमा आठ लाख १३ हजार ५७३ जनसंख्या रहेको विवरणमा उल्लेख छ। जिल्लामा प्रहरीको स्वीकृत दरबन्दी ९०४ रहेकामा हाल ८१९ जना मात्रै कार्यरत छन्। समीक्षा अवधिमा प्रहरीबाट प्रवाह गरिएका विभिन्न सेवाबाट १८ हजार ७५३ जना लाभान्वित भएका छन्। तीमध्ये चार हजार ५२८ महिला, १३ हजार ५६१ पुरुष र ६६४ बालबालिका रहेका छन्। प्रहरी कर्मचारीको कार्यसम्पादन प्रोत्साहन तथा क्षमता विकासका लागि ११ जनालाई पुरस्कृत, १२ जनालाई कारबाही र ३५ जनालाई विभिन्न तालिम प्रदान गरिएको एसपी रिजालले जानकारी दिए। प्रहरीले अपराध अनुसन्धान, फैसला कार्यान्वयन, लागुऔषध नियन्त्रण, अवैध कारोबार रोकथाम, ट्राफिक व्यवस्थापन तथा नागरिकका गुनासा समाधानलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ।

Comment

Related News

Latest News

Trending News