२०८३ आश्विन २४, शनिबार ०८:४९

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका टिकटक प्रयोगकर्ता मोहम्मद इर्साद खानविरुद्ध थप दुईवटा ज्यान मार्ने उद्योगका मुद्दा चलिरहेको खुलेको छ ।

सामाजिक सञ्जालमा ‘गुण्डा’ र ‘एमडी इर्साद खान’ नामले चर्चित इर्साद ती दुवै मुद्दामा धरौटीमा रिहा भएका थिए । मुद्दाहरू भने हाल विचाराधीन अवस्थामा रहेको बताइएको छ । प्राप्त जानकारी अनुसार, २०८२ फागुन ३ गते इर्सादले जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलका २६ वर्षीय मोहम्मद मुस्तफा राइनमाथि खुकुरी प्रहार गरेको आरोप छ । मुस्तफाको जाहेरीअनुसार, इर्सादले उनलाई घरमा बोलाएर पसलमा लगेका थिए । त्यहाँ घाँटीमा खुकुरी राखेर काट्ने धम्की दिइएको र उनी भाग्न खोज्दा पछाडिबाट लखेटेर खुकुरी प्रहार गरिएको आरोप छ। उक्त घटनामा मुस्तफाको बायाँ हातमा खुकुरी लागेर उनी घाइते भएका थिए । घटनापछि मुस्तफाले इर्सादविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए।

प्रहरीले उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा अघि बढाएको थियो । प्रहरीका अनुसार, उक्त मुद्दामा इर्सादलाई पक्राउ गर्न धनुषा जिल्ला अदालतबाट असार ३१ गते नै पक्राउ अनुमति लिइएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयले साउन १८ गते जानकी प्रहरी चौकीलाई पत्राचार गर्दै उनको खोजी तथा पक्राउका लागि आवश्यक पहल गर्न निर्देशन दिएको थियो। तर, लामो समयसम्म उनी पक्राउ पर्न सकेका थिएनन् । डीएसपी खनालका अनुसार, पुरानो मुद्दामा पनि इर्सादलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको थियो। प्रहरी टोली पटकपटक उनको घरसम्म पुगे पनि उनी फेला नपरेको खनालले बताएका छन्। ज्यान मार्ने उद्योगको आरोपमा खोजी भइरहेका इर्साद बिहीबार साँझ भएको छुरा प्रहारको घटनापछि प्रहरी नियन्त्रणमा आएका छन् ।

बिहीबार साँझ जनकपुरधामस्थित जानकी मन्दिरनजिकै भएको छुरा प्रहारबाट जनकपुरधाम–५ सोनारपट्टीका २४ वर्षीय आमिन साफीको मृत्यु भएको थियो भने सोही ठाउँका २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएका थिए । प्रहरीले जनाए अनुसार, स्थानीय करिब २२ वर्षीय इर्सादले दुवै युवकको छाती र पेटमा धारिलो हतियार प्रहार गरेका थिए । घटनालगत्तै प्रहरीले घाइते दुवैलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पु¥याएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा आमिनलाई मृत घोषणा गरेका थिए । उनको शव परीक्षणलगायत आवश्यक कानुनी प्रक्रिया पूरा गर्न शवगृहमा राखिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते इम्तियाजको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

पुरानो मुद्दामा पक्राउ गर्न अनुमति लिइसकिएको व्यक्तिमाथि पुनः गम्भीर हिंसात्मक घटनामा संलग्न भएको आरोप लागेपछि प्रहरीको खोजी तथा पक्राउ प्रयासबारे पनि प्रश्न उठ्न थालेको छ । इर्साद टिकटक र फेसबुकमा सक्रिय रहेको तथा सामाजिक सञ्जालमा ‘गुण्डा’ र ‘एमडी इर्साद खान’ नामबाट खाता सञ्चालन गर्ने गरेको विवरण सार्वजनिक भएको छ । उनीमाथि सामाजिक सञ्जालमा अर्को समुदायलाई लक्षित गरी घृणा फैलाउने, हिंसालाई प्रोत्साहन गर्ने तथा गालीगलौजयुक्त सामग्री प्रकाशन गर्ने गरेको आरोपसमेत लागेको छ ।

यस्ता गतिविधिका कारण उनलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने माग यसअघि पनि उठेको बताइएको छ । यद्यपि, सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको प्रकृति, त्यसको कानुनी अवस्था तथा ती सामग्रीको पछिल्लो घटनासँग कुनै सम्बन्ध छ वा छैन भन्ने विषय आधिकारिक अनुसन्धानबाट पुष्टि हुन बाँकी छ । स्थानीयवासीले इर्सादले लागुऔषध सेवन गर्ने गरेको दाबीसमेत गरेका छन् । बिहीबारको घटनापछि प्रहरीले इर्सादकी ४२ वर्षीया आमा सैमुख खातुनलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । घटनामा उनको संलग्नता वा भूमिका के थियो भन्नेबारे प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन ।

अनुसन्धान पूरा भएपछि मात्रै यस विषयमा स्पष्ट विवरण आउन सक्नेछ । प्रहरीले घटनाको तत्कालीन कारण, पुरानो रिसइवी, प्रयोग गरिएको हतियार तथा घटनामा संलग्न व्यक्तिहरूको भूमिकालगायत पक्षमा अनुसन्धान गरिरहेको जनाएको छ । जनकपुरधामको व्यस्त क्षेत्र मानिने जानकी मन्दिर आसपास भएको घटनामा एक युवकको ज्यान जानु र अर्का युवक गम्भीर घाइते हुनुले स्थानीय सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ ।

Comment

Related News

Latest News

Trending News