बीरगञ्ज असोज २५ |
नेपाल भारत सिमा नाकामा ठूलो मात्रामा लागू औषध बरामद गरिएको छ। सीमामा खटेको भारतीय एसएसबीले महेन्द्र गाडीबाट ठूलो मात्रामा लागू औषध सहित तिन भारतीयलाई पक्राउ गरेको हो। भारतीय एसएसबीले ३६५ एम्पुल प्रतिबन्धित नशालु इन्जेक्सन महिन्द्राबाट चेक जाँच गर्ने क्रममा बरामद गरेको छ।
लागू औषध सहित पूर्वी चम्पारण जिल्ला, बनजरिया थाना क्षेत्रका तीन जनालाई पक्राउ गरिएको भारतीय एसएसबीलेजनाएको छ।
भारतबाट नेपाल प्रवेश पगर्न लागेको महिन्द्रा कम्पनीको एक्सवाईएल (XYLO-E4) कारमा प्रतिबन्धित नशालु इन्जेक्सन रहेको गोप्य सूचनाको आधारमा उक्त लागू औषध बरामद गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। रक्सौलका अनुमण्डल प्रहरी पदाधिकारीको नेतृत्वमा एसएसबी सहितको विशेष टोली गठन गरिएको थियो।
भारतीय नम्बर प्लेटको डीएल४सीएनबी४६३६ नम्बरको महिन्द्रा कारको पछाडिको सिटमुनि बनाइएको गोप्य स्थानबाट दुईवटा सेतो कार्टुनमा राखिएका ३६५ एम्पुल नशालु इन्जेक्सन बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद इन्जेक्सनमा NRX–Buprenorphine Injection I.P. Talgesic, 2ml लेखिएको छ। भारतको इन्डस फार्मा प्रालिद्वारा उत्पादित उक्त इन्जेक्सनमध्ये २०२ एम्पुल ब्याच नम्बर BUP326003 का र १६३ एम्पुल ब्याच नम्बर BUP326004 का रहेको छ । प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार ती इन्जेक्सनको उत्पादन मिति क्रमशः मे र जुन २०२६ तथा म्याद समाप्त हुने मिति अप्रिल र मे २०२८ रहेको छ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा ३६ वर्षीय ध्रुव यादव, ३८ वर्षीय चन्द्रशेखर प्रसाद र २७ वर्षीय बुद्धु कुमार रहेका छन्। उनीहरू सबै पूर्वी चम्पारण जिल्लाको बनजरिया थाना क्षेत्रअन्तर्गत फूलवार गाउँका बासिन्दा भएको विज्ञप्तिमा उल्लेख छ।
पक्राउ परेका तीनै जनालाई हरैया थाना लगिएको र उनीहरूमाथि थप कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
उक्त कारबाहीमा रक्सौलका अनुमण्डल प्रहरी पदाधिकारी, स्थानीय प्रहरी अधिकारी तथा सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मी सहभागी थिए।
प्रहरीले बरामद इन्जेक्सन र कारलाई नियन्त्रणमा लिएको छ। इन्जेक्सन कहाँबाट ल्याइएको र कहाँ पुर्याउने योजनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।


