नेपालीहरुको चाड दसैँ, तिहार एवं छठ नजिकिएसँगै जनकपुरधाममा अहिले निकै चलहपहल बढेको छ । नगरभित्र रहेको मन्दिरहरू आकर्षक ढंगले दुलही झैँ सिँगारिएको छ, तर बजारमा व्यापार व्यवसाय खासै बढ्न नसकेको देखिन्छ ।
मधेस प्रदेशको प्रमुख व्यापारिक केन्द्र जनकपुरधाममा यस वर्ष दसैँमा पनि व्यापार बढ्न सकेको छैन । चाडपर्वकै लागि भनेर नयाँ स्टक भित्र्याएका सामानहरू बिक्री नहुँदा व्यवसायीहरू चिन्तित भएका छन् । चाडपर्वको बेला पनि बोहनी हुन मुस्किल हुने गरेको कतिपय व्यवसायीको भनाइ छ । सामग्री किनमेलको लागि नगरको जनकचोक, शिवचोक, रामानन्दचोक, पिडारीचोक, भानुचोक, पुल्चोक मुरली चोक लगायतका क्षेत्रमा कपडा, जुत्ता, कस्मेटिक, इलेक्ट्रोनिक्स तथा अन्य सामानका पसलहरूमा यतिबेला भिडभाड हुनुपर्ने हो, तर यी मुख्य चोकका पसल नै सुनसान देखिन्छन् ।
व्यापारीहरू दसैँ भित्रिसक्दा पनि अन्य दिनसरह नै अनुभव भइरहेको बताउँछन् । विगतका वर्षमा दसैँ आउनुभन्दा एक महिना अघिदेखि नै व्यापार बढ्ने गरे पनि यो वर्ष बजारमा अपेक्षाअनुसार ग्राहक नआएको व्यवसायीहरूको गुनासो छ । गोपाल धर्मशालामा लगाइएको सस्ता बजारमा केही चहलपहल देखिएपनि बजार सुनसान नै छन् । जनकचोकमा रेडिमेड कपडा पसल सञ्चालन गर्दै एक व्यवसायी भन्छन दसैँका लागि नयाँ सामान मगाए पनि बिक्री नहुँदा चिन्ता बढाएको छ । ‘चाडपर्वमा पनि व्यापार छैन, दिनभरि पसलमा बस्छु, तर बोहनीसमेत हुँदैन,’ उनले भने, ‘दसैँका लागि नयाँ स्टक मगाएको छु । तर बिक्री नै छैन । सबै सामान त्यसै थन्किने हो कि भन्ने चिन्ता लागेको छ ।’ दसैँमा लत्ताकपडाको व्यापार राम्रो हुने अपेक्षा गरिए पनि यसपटक बजारमा त्यसअनुसार कारोबार हुन नसकेको व्यापारीहरूको भनाइ छ ।
पिडारीचोकमा कपडा पसल सञ्चालन गर्दै आएका परमेश्वर सहनीका अनुसार विगतका वर्षमा दसैँ आउनुभन्दा एक महिनाअघिदेखि नै व्यापारमा उल्लेख्य वृद्धि हुन्थ्यो । तर यसपटक व्यापार निकै कमजोर भएको उनी बताउँछन् । उनका अनुसार व्यापार घटेको छ, तर घरभाडा, कर्मचारीको तलब, विद्युत् र अन्य खर्च नियमित रूपमा तिर्नुपर्ने भएकाले बिक्री कम हुँदा आर्थिक दबाब परेको छ । यस्तो चाडपर्वको बेला पनि व्यापार नहुँदा विशेषगरी साना तथा मझौला व्यवसायीलाई पसल सञ्चालन गर्न पनि अप्ठ्यारो परेको छ ।
यस्तो हुनुमा मुख्य गरेर नजिकै भारतीय सीमावर्ती र दशैं बजार रहेको उनीहरुको ठम्याई छ । अधिकांश ग्राहक सस्तो पाउने लोभमा भारतीय बजार र सस्ता बजारतिर नै आकर्षित हुन्छन् । उता व्यापार बढ्छ, यता जस्ताको त्यस्तै रहन्छ । व्यवसायीहरूका अनुसार जनकपुरधामको बजारमा उपभोक्ताको खर्च गर्ने क्षमता, खरिद गर्ने बानी र बजारमा बढेको प्रतिस्पर्धाले पनि व्यापारलाई असर पारेको छ । पहिले चाडपर्वका लागि नयाँ कपडा र अन्य सामग्री खरिद गर्ने ग्राहक अहिले आवश्यकताअनुसार मात्र सामान किन्न थालेका छन् । यसले गर्दा पनि व्यापारमा असर परेको छ । दशैं जस्ता चाडतिहारमा पनि उनीहरुलाई सटर भाडा तिर्ने धौ धौ समेत भएको छ ।
सामाजिक सञ्जालले पनि प्रभावित
यस्तै, सामाजिक सञ्जालमार्फत गरिने प्रचारप्रसार र अनलाइन बजारको प्रतिस्पर्धाले पनि स्थानीय व्यवसायीलाई चुनौती थपेको व्यापारीहरूको भनाइ छ । उनीहरु भन्छन सामाजिक सञ्जाल फेसबुक र टिकटकबाट सस्तो मूल्य देखाएर ग्राहक आकर्षित गर्ने प्रवृत्तिले पनि स्थानीय पसलको व्यापार प्रभावित भएको बताए ।
सामाजिक सञ्जालमा सामानको मूल्य र गुणस्तर त्यति ध्यान नदिइने भएकाले अनलाइनबाटै खरिद गर्न सकिने सुविधाले ग्राहकको खरिद व्यवहारमा परिवर्तन आएको व्यवसायीहरू बताउँछन् । उनीहरूका अनुसार बजारमा प्रतिस्पर्धा बढ्दै जाँदा ग्राहकलाई आकर्षित गर्नुपर्ने तीव्र प्रतिस्पर्धा छ, तर बिक्री बढाउन मूल्य घटाएर व्यापार गर्न सक्ने अवस्था नरहेको उनीहरूको भनाइ छ । व्यवसायीहरु भन्छन् महिनौदेखि राखिएको पुराना स्टक र कम्पनीका रिजेक्ट माल फोटो र दृश्यमा एआई प्रयोगले आकर्षक बनाई सामाजिक सञ्जालमा गरिएको प्रदर्शनले ग्राहकले ती वस्तुको गुणस्तरीयता नहेरी किन्ने गरेका छन् ।
तर आफूहरुले ब्राण्डेड र गुणस्तरीय सामान त्योभन्दा केही बढी मूल्य लिँदा महँगो भनेर छाड्ने गरेका छन् । सामाजिक सञ्जालमा गरिने भ्रामक प्रचार नियन्त्रण गर्न राज्यपक्षले जरुरी रहेको उनीहरुको भनाई छ । व्यवासयीहरु भन्छन सामाजिक सञ्जालको प्रचार प्रसारले ठगी हुने, राज्यको राजश्व छल्ने, स्थानीय मिडियाको विज्ञापन रोक्ने लगायतका काम हुने भएकाले राज्य पक्षले नियन्त्रण गरेन भने आफूहरुलाई पलायन हुने अवस्था आउन सक्छ ।


