राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले अडियो प्रकरणमा दोषि देखिए सांसद खगेन्द्र सुनारमाथि कारवाही हुने स्पष्ट पार्नुभएको छ ।
मंगलबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै बुर्लाकोटीले सुनारको अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन आयोगले छानबिन सुरु गरिसकेको जानकारी दिदै दोषि देखिए कारवाही हुने स्पष्ट पार्नुभएको हो । उहाले छानबिन प्रक्रिया टुङ्गोमा नपुग्दासम्म सुनारलाई पदीय हैसियतमा कुनै पनि औपचारिक कार्यक्रमहरूमा सहभागी नहुन निर्देशन दिइएको बताउनुभयो ।
केही प्रमाणहरूसहित बाहिर देखिएकाले अडियो सही वा नक्कली के हो भन्नेबारे विस्तृत छानबिन गर्न आयोगलाई जिम्मा दिइएको उहाले बताउनुभयो ।
उहाले अडियो प्रकरणमा राज्यका कानुनहरू आकर्षित भए राज्यका सरकारी निकायहरूले गर्ने अनुसन्धानमा पार्टीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
उहाले अनशासन आयोगले दोषी नदेखेमा वा गल्ती नभएको पाइएमा केही नहुने तर गल्ती देखिएमा पार्टी नियमानुसार कारबाही हुने उल्लेख गर्नुभयो ।


