२०८३ आश्विन २९, बिहीबार ०७:३०

गत वर्ष वडा दसैँका बेला जनकपुरधामस्थित राजदेवी मन्दिर परिसरमा लगाइएको रोटेपिङको रड भाँचिएपछि ५६ जना श्रद्धालुको ज्यान जोखिममा परेको थियो । नेपाली सेना र सशस्त्र प्रहरीले करिब पाँच घण्टाको कठिन प्रयासपछि उनीहरूको उद्धार गरेका थिए । त्यस घटनापछि दशैँ मेलामा रोटेपिङजस्ता जोखिमपूर्ण झुला सञ्चालन नगर्ने निर्णय गरिएको थियो । तर यस वर्ष पुनः महावीर युवा कमिटीले राजदेवी मन्दिर परिसरमा रोटेपिङलगायतका झुला सञ्चालन गर्न खोजेपछि आलोचना भएको थियो । स्थानीय प्रशासनले बाल मनोरञ्जनबाहेक अन्य गतिविधि नगर्न निर्देशन दिएको बताइए पनि मन्दिर परिसरबाट हटाइएका झुला अहिले बारहबिघा मैदानमा जडान गरिएका छन् । त्यहाँ तीनदेखि चारवटा ठूला झुला सञ्चालनको तयारी गरिएको छ । अनुमति, दर्ता, बीमा तथा प्राविधिक सुरक्षा परीक्षणबिनै यस्ता जोखिमपूर्ण झुला सञ्चालन गर्न लागिएको भन्दै सम्बन्धित निकायको भूमिकामाथि प्रश्न उठेको । कुनै दुर्घटना भए जिम्मेवारी कसले लिने भन्ने अन्योलसमेत देखिएको छ ।

अनुमति दिने निकायबीच जिम्मेवारीको अन्योल

जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार झुला सञ्चालनसँग सम्बन्धित अनुमति वृहत्तर जनकपुर क्षेत्र विकास परिषद् र जनकपुरधाम उपमहानगरपालिकाले दिएको बताइएको छ । तर दुवै निकायले आफूहरूले सांस्कृतिक कार्यक्रम तथा मेला आयोजनाका लागि मात्र अनुमति दिएको दाबी गरेका छन् । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् का प्रशासकीय अधिकृत जितेन्द्र यादवले रामानन्द युवा क्लबले मिथिला कला, संस्कृति र खानाको प्रवद्र्धन गर्दै पर्यटन विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न अनुमति माग गरेको थिए । त्यसपछि जानकी मन्दिर र उपमहानगरपालिकासँग अनुमति लिएर कसैलाई अवरोध नहुने गरी कार्यक्रम गर्न भनिएको उनले बताए । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले पनि रामानन्द युवा क्लबले उपमहानगरपालिका र वृहत्तरको अनुमतिसहित मेला आयोजनाका लागि आदेश माग गरेपछि प्रशासनले अनुमति दिएको बताए । उता, उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख प्रमेश झाले रामानन्द युवा क्लबलाई रमाइलो मेला आयोजना गर्न शुल्क लिएर अनुमति दिएको बताए । तर झुलाको प्राविधिक परीक्षण र सम्भावित दुर्घटनाको जिम्मेवारी क्लबले लिनुपर्ने उनको भनाइ छ ।

सुरक्षा परीक्षण र बीमाबारे प्रश्न

नेपाल मेला महोत्सव संघको केन्द्रीय समितिले पनि जिल्ला प्रशासन कार्यालय धनुषालाई पत्र पठाउँदै धार्मिक स्थलसँग जोडिएको क्षेत्रमा जोखिमपूर्ण मनोरञ्जनका साधन सञ्चालनको तयारीबारे ध्यानाकर्षण गराएको छ । दशैँ मेलामा बालबालिका, परिवार र सर्वसाधारणको ठूलो भीड लाग्ने भएकाले झुलाको प्राविधिक परीक्षण, संरचनाको मजबुती, सञ्चालन अनुमति, बीमा तथा आपत्कालीन उद्धारको व्यवस्था अनिवार्य रूपमा सुनिश्चित हुनुपर्ने देखिन्छ । सांस्कृतिक कार्यक्रमका नाममा जोखिमपूर्ण झुला सञ्चालन भइरहेको हो भने त्यसको अनुमति कसले दिएको हो र आवश्यक मापदण्ड पूरा गरिएको छ कि छैन भन्ने विषयमा स्थानीय प्रशासनले स्पष्ट पार्न आवश्यक छ । सामान्य राजस्व वा मनोरञ्जनका नाममा नागरिकको ज्यान जोखिममा पार्न मिल्दैन । रंगभूमि मैदान-बाह«बिघा) मा जडान गरिएका झुलाको सुरक्षा परीक्षण, बीमा र वैधानिक अनुमति सुनिश्चित नभएसम्म सञ्चालन गर्न दिनु उचित नरहेको स्थानीयहरु बताउँछन् ।

Comment

Related News

Latest News

Trending News