समाजमा हिंसा फैलाउने र विभिन्न व्यक्ति, समुदाय तथा संगठनको मर्यादामा आँच पु¥याउने गरी आपत्तिजनक सामग्री सामाजिक सञ्जालमार्फत पोस्ट गरेको आरोपमा क्रिमिनल भन्ने एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका–१ निवासी करिब २० वर्षीय क्रिमिनल भन्ने राजु यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सामाजिक सञ्जालमा हिंसा फैलाउने उद्देश्यले उत्तेजित पार्ने सामग्री, गालीगलौज तथा आपत्तिजनक शब्द प्रयोग गरी पोस्ट गर्ने र धम्की दिने किसिमका सामग्री अपलोड गरेको आरोप उनलाई पक्राउ गरिएको हो ।
प्रहरीले उनलाई २०८३ असार २७ गते राति करिब ११ बजे जनकपुरधाम उपमहानगरपालिका–९ बाट नियन्त्रणमा लिएको जनाएको छ । त्यसैगरी, सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न व्यक्ति, समुदाय तथा संगठनको मानमर्दन हुने सामग्री पोस्ट गर्ने, गालीगलौज गर्ने तथा धम्की दिने किसिमका फोटो र भिडियो पोस्ट गरेको आरोपमा अन्य चार जनामाथि समेत अनुसन्धान तथा कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीले सामाजिक सञ्जालको प्रयोग गर्दा कानुनको पालना गर्न, अरूको मानमर्दन हुने तथा हिंसा भड्काउने सामग्री पोस्ट नगर्न र अनलाइन माध्यमबाट धम्की दिने वा आपत्तिजनक गतिविधि नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ ।



