अपडेट 
२०७७ जेष्ठ ११, आईतवार २३:५२

काठमाण्डु।शिक्षाविद्हरुले विद्यालयस्तरको पठनपाठन सुचारु गर्ने व्यवस्था मिलाउन र एसइईको परीक्षा स्थगन गर्न सुझाव दिएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले लकडाउन लागू गरेपछि सबै विद्यालय र विश्वविद्यालयको पठनपाठन बन्द छ । लामो समयसम्म पठनपाठन बन्द गर्दा बालबालिकाको मनोविज्ञानमा असर पर्न सक्ने भन्दै कुनै न कुनै उपाय अपनाई विद्यालय सुचारु गर्न विज्ञहरुले सुझाव दिएका छन् ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको आइतबारको बैठकमा विज्ञहरुले एसइईको परीक्षा स्थगित गर्न र विद्यालयलाई सञ्चालन गर्ने वातावरण निर्माण गर्न सुझाव दिएका हुन् । शिक्षाविद् डा. मनप्रसाद वाग्लेले विद्यार्थीहरुलाई पालैपालो सिफ्टवाइज विद्यालय बोलाएर पढाई सूचारु गर्नुपर्ने बताए । उनले अहिले देशभरका अधिकांश विद्यालयलाई क्वारेन्टाइन बनाइएको र त्यसको व्यवस्थापन कठिन हुने भन्दै सरकारले तत्काल विचार गर्नुपर्ने बताए । उनले विद्यालयलाई निर्मलीकरण गर्ने, पालैपालो विद्यालयमा बोलाउने, विद्यार्थीलाई मास्क, पन्जा र स्यानिटाइजरको व्यवस्था गर्ने, प्रत्येक विद्यालयमा इन्फ्रारेड थर्मोमिटरको व्यवस्था गर्ने, शौचालयको राम्रो व्यवस्था गर्ने लागयतका काम गर्न पनि सुझाव दिए ।

लकडाउनमा केही विद्यालयहरुले अनलाइनबाट पढाई सुरु गरेका छन् । तर सबै विद्यार्थीहरुमा इन्टरनेटको उपलब्धता नहुने भएकाले उक्त प्रविधि सबैका लागि उपयुक्त नहुने पनि विज्ञहरुले बताएका छन् । सरकारले टेलिभिजन, रेडियो, छापा र अनलाइन मिडियाबाट पढाउने गरी पाठ्यक्रमको विकास गर्नु पर्नेमा विज्ञहरुले सुझाव दिएका छन् । शिक्षाविद् डा. विद्यानाथ कोइरालाले अध्यादेश जारी गरेर भएपनि कक्षा १० र ११ को परीक्षा हटाउनु पर्ने बताए । उनले कोरोनाको समयमा विद्यालय सञ्चालन गर्न कठिन भए उत्पादनसँग जोडेर शिक्षा प्रणालीको विकास गर्नुपर्ने बताए ।

सांसद डा. मिनेन्द्र रिजालले प्रविधिको प्रयोग गरी विद्यायल शिक्षालाई सुचारु गर्न सकिने बताए । उनले सरकारले प्रविधिको विकासका लागि श्रोत दिने र स्थानीय तहबाट शिक्षाका क्रियाकलापलाई व्यवस्थापन गर्ने गरी काम गर्नुपर्ने बताए ।

सांसद पम्फा भुसालले विद्यालय शिक्षालाई नियमित कसरी गर्ने, परिमार्जन कसरी गर्ने भन्ने विषयमा तत्काल निर्णय गर्नुपर्ने बताइन् । उनले एसइई परीक्षा हटाई कक्षा १२ को परीक्षा परीक्षा बोर्डबाट लिनु पर्ने बताइन् । उनले एसइई परीक्षा सञ्चालन गर्ने विषयभित्र आर्थिक स्वार्थ समेत लुकेको हुन सक्ने भन्दै यसलाई हटाई कक्षा १२ को परीक्षा मात्रै लिनुपर्ने बताइन् ।

सांसद प्रभु साहले कोरोना भाइरसको जोखिमको अवस्था कति लामो समयसम्म जान्छ र विद्यालय कहिलेसम्म बन्द हुन्छ भन्ने विषयमा स्पस्ट हुनु पर्ने बताए । उनले लामो समय विद्यालय बन्द हुने, अनलाइनको पाठ्यक्रमको विकास र प्रणालीको विकास गर्न समय लाग्ने भएकाले मन्त्रालयले योजनाको विषयमा समितिले जानकारी लिएर अगाडि बढ्नु पर्ने बताए ।

गत चैत ११ गतेदेखि लकडाउन भएपछि एसइईको परीक्षा स्थागित भएको छ । लकडाउनका कारण विद्यालयहरु सञ्चालनमा आउन पनि सकेका छैनन् । यस्तै लामो समयसम्म कोरोना भाइरसको संक्रमणको जोखिम देखिने अवस्थामा विद्यालय शिक्षामा असर पर्ने पक्का छ । किनभने अधिकांश विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको छ । जसले गर्दा विद्यालयलाई तत्काल सुचारु गर्न कठिनाई हुनेछ । त्यस्तै लकडाउनपछि पनि विद्यालय सञ्चालन गर्न न्यूनतम स्वास्थ्य सुरक्षा अपनाउनको लागि प्रत्येक विद्यालयलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनु पर्ने हुन्छ । त्यसको तयारी सरकारले अहिले सम्म गरेको छैन । त्यसैले लामो समयसम्म विद्यालय शिक्षा बन्द हुने भन्दै विद्यालयलाई कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा समितिले छलफल सुरु गरेको हो ।

Comment


Related News

Latest News

Trending News