२०८३ कार्तिक २, आईतवार ०७:१२

बिहीबार मैले आफ्नो फेसबुक वालमा लेखेको थिएँ– ‘राजदेवीमाता राजा जनककी कुलदेवी होइनन्, श्रद्धालुहरुलाई झुक्याउने खेल हुँदैछ । राजा जनककी कुलदेवी गिरिजा हुन् । मन्दिरको मूलद्वारमा लेखिएको भूलसुधार गर । हेलो युवा कमिटीहरु’ हेलो पुरातत्व विभाग’ हेलो जनकपुरधामका नागरिक समाज ‘लहै–लहैमा लागेर इतिहास र धार्मिक आस्थासंग खेलवाड नगर’, जय होस्’।’

यस विचारमाथि अनेकौँ टिप्पणी आए । केहिले बेमौसमीको बाजा भन्दै विरोध गर्नु भयो । केही भने तर्क प्रमाणसहित राजा जनककी कुलदेवी गिरिजा भएको दरिलो पक्ष राख्नु भयो । सकारात्मक होस् वा नकारात्मक सम्पूर्ण टिप्पणीप्रति मेरो सम्मान छ । कारण वेद भन्छ– ‘वादे वादे जायते तत्व बोध : अर्थात् तर्क वितर्क तथा विमर्शले सत्य तथ्य खोज्न मद्दत गर्छ । मैले खोजेको पनि यही थिएँ । ११३ भन्दा अधिक मठ मन्दिर रहेको जनकपुरधामका एउटै मन्दिरको स्थापना मिति, निर्माता तथा धार्मिक सांस्कृतिक महत्व झल्किने अभिलेख प्राप्त हुँदैन । विश्व प्रसिद्ध जानकी मन्दिरसम्ममा स्थापनाबारे आधिकारिक दस्तावेज छैन ।

अतः राजदेवी मन्दिरमात्र होइन, जानकी मन्दिर, राम मन्दिर, रत्नसागरलगायतका प्राचीन मठ–मन्दिरहरुको इतिहास तथा धार्मिक सांस्कृतिक महत्व बुझ्न सामाजिक सञ्जालबाटै भए पनि यस प्रकारका अभियानहरु संचालन भइ राख्नु पर्दछ । यसमाथि पूर्वाग्रहरहीत तथा तर्क प्रमाणमा आधारित टिका टिप्पणी पनि हुनु पर्दछ । यसमा दुईमत छैन कि स्थानीयवासीहरु राजदेवीलाई राजा जनककी कुलदेवी मान्दै आएका छन् । केही इतिहासकार तथा संस्कृतिविद् हरुले पनि बेला बेला राजदेवीलाई जनककी कुलदेवी भनि उल्लेख गरेका छन् । इतिहासकार शिवेन्द्र लाल कर्ण र नारायण प्रसाद रिमालद्वारा लिखित ‘जनकपुरधामका मठ मन्दिरहरु’ पुस्तमा उल्लेख छ– ‘जनकवंशी राजाहरुको कुलदेवीका रुपमा पूजित देवी श्रीराजदेवी ।’

यसैगरी प्रा.डा. शैलेन्द्रनारायण मल्लिक आफ्नो ‘जनकपुरको इतिहास’ नामक पुस्तकमा लेखेका छन्– ‘वि.सं. १८३९ मा काजी अमरसिंहले राममन्दिरको निर्माण क्रममा सैनिकहरुको शस्त्रागृह (कोत) मा देवी शक्तिको पुजन परम्परा अनुसार देवीको स्थापना गरिएकोमा तत्कालीन समयमा राज्यको शान्ति, सुरक्षा एवं समृद्धिका प्रतीक राजदेवी भन्ने प्रचलन रहेको बुझिन्छ ।’ यद्यपि प्रा.डा. मल्लिकले पनि राजदेवीमातालाई जनकवंशकी कुल देवी भनिने गरेको स्वीकार गरेका छन् । इतिहासकार जानकार रोशन जनकपुरी राजदेवी मन्दिरको निर्माण राममन्दिर निर्माण ताका कि त अमर सिंह थापाले अथवा राममन्दिरको पहिलो पुनर्निर्माणको बेला गरिएको उल्लेख गरेका छन् । ‘कति पुरानो जनकपुरÚ शीर्षकको आलेखमा जनकपुरी लेख्नु हुन्छ–’यो राजदेवी गोर्खाली सेना जनकपुरमा हुँदा कोतघर (हतियार राख्ने तथा शक्ति पूजा गर्ने स्थल वा गहवर) हुने बढी तर्कसंगत देखिन्छ ।

जनकपुरधाममा यस राजदेवीलाई राजा जनकको कुलदेवीको रुपमा बढी प्रचारित गरिएको पाइन्छ । यो ऐतिहासिक र तर्कसंगत देखिँदैन ।’ रामायणकालीन इतिहासको मुख्य स्रोत धार्मिक ग्रंथहरु छन् । कुनै पनि ग्रंथमा राजाजनककी कुलदेवीको रुपमा राजदेवीको उल्लेख वा जनकवंशी राजा, रानी वा राजकुमारीहरुले राजदेवी पूजन गरेको उल्लेख पाईदैन । फेरी, जनकपुरधाममै दुईवटा राजदेवी मन्दिर छन् । यसका अतिरिक्त लहान, राजविराज, मलंगवालगायतका सेनवंशी तथा शाहवंशी राजाहरुको प्रभुत्व रहेको नगरहरुमा राजदेवी मन्दिरहरु स्थापित छन् । राजविराजमा अवस्थित राजदेवी मन्दिर सेनकालीन रहेको दाबी इतिहासकारहरुको छ । राजदेवीकै नामबाट राजविराजमा राजदेवी टोलको नामकरण गरिएको छ ।

मकवानपुरका राजा इन्दुविधाता सेनले सन् १७०७ मा राममन्दिरका आदिमहन्त चतुर्भुज गिरीलाई कुशविर्ताको रुपमा जग्गा प्रदान गरेको ताम्रपत्र प्राप्त हुन्छ । जसलाई सेनपछि शाहवंशी राजाहरुले पनि थमौटी गर्दै आएका थिए ।

अर्कोतर्फ जनकवंशी राजा, रानी तथा राजकुमारीहरु गिरीजा अर्थात् पार्वतीको पूजन गरेको उल्लेख रामचरित मानसलगायतका धार्मिक ग्रंथहरुमा पाईन्छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामभन्दा करिब २० किलोमीटर दक्षिणमा अवस्थित गिरिजा स्थान (फुलहर) मा अवस्थित गिरिजा मन्दिरमा दर्शन तथा पूजा गर्न सीता नित्य जाने गरेकी उल्लेख छ । जहाँ राम–जानकीको पहिलो मिलन भएको थियो । गोस्वामी तुलसी दास गिरीजा स्थानको शोभा सुन्दर, राम–जानकीको पहिलो मिलन, मिलन बेलाको दुबैको मनोविज्ञान तथा कुल देवी गिरीजाको आशीर्वाद आदिको बृहद् वर्णन गर्नु भएको छ । रामायणमा वर्णित प्रसंग अनुसार, गुरु विश्वामित्रको आज्ञाले राम र लक्ष्मण राजा जनकको फूलवारीबाट फूल टिप्न गएका थिए । गिरीजा स्थान (फूलहर) मा अवस्थित राजा जनकको फूलवारीको भव्यता देखेर दुबै दाजु भाई मन्त्रमुग्ध भए । बाग तरागको सुन्दरता वर्णन गर्दै तुलसी दास लेखेका छन्– बागु तडागु बिलोकि प्रभु, हरषे बंधु समेत । परम रम्य आरामु यहु, जो रामहि सुख देत ।।

रामचरित मानसमा आएको वर्णन अनुसार, जानकी बाग तडागको मध्यमा अवस्थित सरोवरमा स्नान गरी सहेलीहरुसंग कुलदेवी गिरीजा पूजनको लागि गिरीजा मन्दिर गएकी थिइन् । गरीजा पूजनपश्चात् एक सहेली जानकीलाई बाग तडागमा दुईजना सुन्दर युवक फूल टिप्न आएका तथा श्याम र गौर वर्णका दुबै युवक कामदेवभन्दा पनि सुन्दर रहेको ती सहेलीले जानकारी दिएकी थिइन् । सखिको वचन सुनेर अधिर बनेकी सीता तत्कालै रामको दर्शन गर्न गिरीजा मन्दिरबाट पुनः बाग तडाग फर्केकी थिईन । राम जानकीको पहिलो मिलनलाई महाकवि तुलसी दास सुन्दर शब्दमा अभिव्यक्त गरेका छन्– अस कहि फिरि चितए तेहि ओरा । सिय मुख ससि भए नयन चकोरा ।। भए बिलोचन चारु अचंचल । मनहुँ सकुति निमी तजे दिगंचल ।। अर्थात् राम र जानकी एक अर्कोलाई देखेपछि दुबैका आँखा अचंचल -स्थिर) भएका थिए । रामसंगको पहिलो मिलन पश्चात् जानकी पुनः गिरीजा पूजनको लागि मन्दिर गएकी थिइन् । अनि जानकीको मनोदशा बुझेर गिरीजा उनलाई आशीर्वाद दिएकी थिईन– ‘सुनु सिय सत्य असीस हमारी । पुजिहि मन कामना तुम्हारी । अर्थात् हे सीता तिम्रो मनोकामना पूर्ण हुन्छ । तिमी पतिको रुपमा रामलाई प्राप्त गर्ने छौं । अन्तमा म पुनः आग्रह गर्न चाहन्छु– जनकपुरलाई धार्मिक सांस्कृतिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नु छ भने जनकपुरधामका मठ मन्दिर तथा सरोबरहरुलाई अभिलेखीकरण गर्नै पर्दछ । यो अभिलेख तथ्य र प्रमाणमा आधारित हुनु पर्दछ ।

प्रमाणमा आधारित तथ्यलाई स्वीकार गर्ने वानी बसाल्नु पर्दछ वा अझ प्रामाणिक तथ्य मार्फत आफ्नो मत स्थापित गर्नु पर्दछ । राजदेवी माताले हामी सबैलाई कल्याण गरुन् ।

Comment

Related News

Latest News

Trending News