रौतहटमा नदीजन्य पदार्थको अवैध उत्खनन तथा ढुवानी रोक्न प्रहरीले सक्रियता बढाएको छ। यसैक्रममा प्रहरीले असोज महिनाभर जिल्लाका विभिन्न स्थानबाट ११ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका प्रहरी इकाइबाट परिचालित विशेष टोलीले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार भइरहेको गतिविधिमाथि निगरानी गर्दै ट्र्याक्टर नियन्त्रणमा लिएको हो।
प्रहरीले नियन्त्रणमा लिएका ट्र्याक्टर आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा बुझाएको जनाएको छ। ती सवारीसाधनमाथि गरिएको कारबाहीबाट कुल ६२ हजार ५०० रुपैयाँ जरिवाना असुल भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० बसन्त गौतमले जानकारी दिए।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनमा ना।७ त २५५८, प्रदेश २–०३–००१ त ३७१४, ना।४ त ४६८३, ना।६ त ६५९९, प्रदेश २–०३–००१ त ५३७४, ना।७ त ४६३३, ना।७ त ६६९, प्रदेश २–०३–००१ त २४३९ र ना।६ त ८३५० नम्बरका ट्र्याक्टर छन्। यसबाहेक नम्बर प्लेटमा ‘अन टेस्ट’ उल्लेख भएको एउटा ट्र्याक्टर पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
नदीबाट जथाभावी ढुंगा, गिट्टी, बालुवा तथा अन्य नदीजन्य पदार्थ निकाल्दा नदीको बहाव परिवर्तन हुनुका साथै कटान, तटीय बस्तीमा जोखिम र वातावरणीय क्षति बढ्न सक्ने भएकाले यस्ता गतिविधि नियन्त्रण आवश्यक रहेको प्रहरीको भनाइ छ।
अवैध उत्खनन र ओसारपसारमा संलग्न सवारीसाधनमाथि निगरानी राख्दै कानुनी कारबाहीलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।

