साउदी अरबको दक्षिण–पूर्वी क्षेत्रमा साउदी अराम्कोद्वारा सञ्चालित तेल प्रशोधन केन्द्रमा, ड्रोनका अवशेष खस्दा एक नेपाली कामदारसहित दुई जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा एक नेपाली नागरिक र अर्का फिलिपिनो रहेका छन् । यो घटनामा एक भारतीयसहित अन्य दुई जना घाइते भएका छन् । साउदीको ऊर्जा मन्त्रालयका अनुसार, ड्रोनले युएईको सीमा नजिकै शायबाह तेल क्षेत्रलाई लक्षित गरेको थियो ।
मन्त्रालयले ड्रोन कसले प्रहार गरेको हो भन्नेबारे खुलाएको छैन । ज्यान गुमाएका नेपालीको ठेगाना तथा अन्य विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन । साउदी अरब नेपाली श्रमिकको प्रमुख गन्तब्य देश हो ।
यमनको इरान समर्थित हुथी विद्रोहीले साउदी अरबमा निरन्तर आक्रमण गर्दै आएको छ । विमानस्थल तथा अन्य महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी आक्रमण हुँदै आएको छ ।


