२०८३ कार्तिक ७, शुक्रबार १८:०५

राजस्व अनुसन्धान विभागले सवारीसाधन ढुवानी अनुगमन प्रणाली (भीसीटीएस) अस्थायी रूपमा बन्द गरेको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले प्रणालीमा प्रयोग हुने प्रविधि (पीएचपी) मा गम्भीर कमजोरी देखिएको भन्दै अत्यन्त जरुरी साइबर सुरक्षा सल्लाह जारी गरेपछि विभागले प्रणाली बन्द गरेको हो ।

विभागले जारी गरेको सूचनाअनुसार, साइबर सुरक्षा सल्लाहमा पीएचपी तथा सोसँग सम्बन्धित प्रविधिको दुरुपयोग हुन सक्ने अवस्था औँल्याइएको थियो । आवश्यक सुरक्षा अद्यावधिक गरी प्रणाली सुरक्षित भएपछि सेवा पुनः सञ्चालनमा ल्याइने विभागले जनाएको छ ।

प्रणाली बन्द रहे पनि सेवाग्राहीले हाललाई नियमानुसार जारी भएका बिलबिजकलगायत सम्बन्धित कागजात साथमा राखेर सवारीसाधन सञ्चालन गर्न सक्नेछन् । प्रणाली पुनः सञ्चालनमा आएपछि सम्बन्धित सेवाग्राही, करदाता तथा निकायले नियमअनुसार ढुवानीको विवरण भीसीटीएसमा प्रविष्ट गर्नुपर्नेछ ।

यसबाट सेवाग्राही तथा अन्य सरोकारवालामा पर्न गएको असुविधाप्रति विभागले क्षमायाचना गर्दै प्रणालीको सुरक्षा सुनिश्चित गर्न चालिएको कदममा सबैको सहयोग र समन्वयको अपेक्षा गरेको छ ।

Comment

Related News

Latest News

Trending News