मौसम पूर्वानुमान महाशाखाले आगामी बुधबारदेखि शनिबारसम्म नेपालका धेरै भूभागमा वर्षा र हिमपात हुने भन्दै सचेत रहन आग्रह गरेको छ।
बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकास भइरहेको र यसको प्रभाव नेपालमा पनि पर्ने भएकाले कात्तिक ११ गते बुधबारदेखि १५ गते आइतबारसम्म नेपालको मौसम प्रभावित हुन सक्ने मौसमविद् रोजन लामिछानेले बताए।
उनले बुधबारदेखि नेपालको कोसी, बागमती र गण्डकी प्रदेशमा त्यसको प्रभाव पर्नसक्ने बताए। ‘बिहीबारदेखि त्यसको प्रभाव अझ बढ्छ। शनिबार दिउँसोसम्म त्यसले नेपालका विभिन्न भूभागमा वर्षा र हिमपात गराउने सम्भावना छ।’
चारदिन चक्रवातको प्रभाव रहने भएकाले नेपालको पहाडी र हिमाली क्षेत्रमा पैदलयात्री र पर्यटकहरुले सावधानी अपनाउनु पर्ने सुझाव लामिछानले दिएका छन्।
उनले मौसम फेरबदल भइरहेको भएकाले महाशाखाबाट आवश्यक सूचना लिएर मात्रै काम र भ्रमणका योजना बनाउन पनि आग्रह गरे।
तर, आइतबार, सोमबार र मंगलबार भने देशभर नै वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ।


