बाराको फेटा गाउँपालिकामा नवनिर्मित १५ शैय्याको आधारभूत अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर शनिबार सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) र विपक्षी दल नेकपा एमालेका कार्यकर्ता बीच झडप भएको छ । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर १५ वर्षीय एकजना किशोर घाइते भएका छन् भने ढुंगामुढाबाट पाँच प्रहरी समेत घाइते भएको जनाइएको छ । बारा प्रहरीको गोली लागेर घाइते हुनेमा फेटा गाउँपालिका–३ का आदित्य पासवान रहेका छन् । उनको तिघ्रामा गोली लागेको बताइएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभु प्रसाद ढकालले दिएको जानकारी अनुसार उनको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । झडपका क्रममा प्रदर्शनकारीले नवनिर्मित अस्पताल परिसरमा तोडफोड गर्नुका साथै १० वटा मोटरसाइकलमा आगजनी गरेका छन् । अस्पताल उद्घाटनका लागि तयार पारिएको टेन्ट र शिलालेखसमेत तोडफोड गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
उद्घाटन रोक्नुपर्ने विषयमा विवाद
बाराको फेटा गाउँपालिका–३ मा निर्माण सम्पन्न भएको १५ शैय्याको अस्पताल उद्घाटन गरी गाउँपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम राखिएको थियो । कार्यक्रममा रास्वपाकी प्रतिनिधिसभा सदस्य समीक्षा बास्कोटा सहभागी हुने तय भएको थियो । विगतमा विवेकशील साझा पार्टीबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका व्यक्ति पछि रास्वपामा समाहित भएपछि फेटा रास्वपाको प्रतिनिधित्व रहेको पालिका बनेको छ । स्थानीय प्रशासनले दिएको जानकारी अनुसार अस्पताल उद्घाटन र शिलालेखमा नाम राख्ने विषयलाई लिएर विवाद उत्पन्न भएको थियो । एमालेबाट निर्वाचित पूर्वगाउँपालिका अध्यक्ष अमिरीलाल साह कानुले उद्घाटन रोक्न तथा शिलालेखमा रहेको नाम हटाउन चाहेका थिए । अस्पताल निर्माणको सुरुवात आफू अध्यक्ष हुँदा भएको भन्दै उनले उद्घाटनको विरोध गरेका थिए । बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले दिएको जानकारी अनुसार स्थानीय एमाले नेताहरूले कार्यक्रम बिथोल्ने चेतावनी दुई दिनअ घि नै जिल्ला प्रशासन कार्यालयलाई दिएका थिए । विरोधको नेतृत्वमा पूर्वअध्यक्ष साह कानुसहित स्थानीय नेता तथा शिक्षक लालबाबु साहसमेत रहेको प्रशासनले जनाएको छ । शिक्षक साह जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत हुन् । उनले राजनीतिक रूपमा सक्रिय हुँदै कार्यक्रम बिथोल्ने चेतावनी दिएको विषयमा प्रशासनले दुई दिनअघि नै शिक्षा विकास तथा समन्वय इकाइ बारालाई जानकारी गराएको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले बताए ।
प्रहरीको लाठीचार्जपछि गोली चल्यो
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एसएसपी ढकालले पूर्वगाउँपालिका अध्यक्षको नेतृत्वमा करिब दुई सय ५० जनाको समूह कार्यक्रमस्थल पुगेपछि विवादले उग्ररूप लिएको बताए । दुई पक्षबीच झडप हुन थालेपछि प्रहरीले भीड नियन्त्रण गर्न लाठीचार्ज गरेको थियो । त्यसपछि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले गोली चलाएको छ । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीले भने भीड नियन्त्रणबाहिर गएपछि प्रहरीले हवाई फायर गरेको बताएका छन् । गोली कसको हतियारबाट चलेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको मधेश प्रदेश प्रहरीले जनाएको छ । घटनापछि अस्पताल परिसरमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीसमेत भवनभित्रै थुनिएका थिए ।
इन्स्पेक्टरसहत ३८ कर्मचारीको उद्धार
घटनाका क्रममा स्वास्थ्य चौकीको मुख्य भवनमा रहेका प्रहरी निरीक्षक -इन्स्पेक्टर) सहित करिब ३८ जना सरकारी कर्मचारी झन्डै दुई घण्टासम्म थुनिएका थिए । शनिबार बिहान साढे १० बजेदेखि भवनभित्र घेरिएका उनीहरूलाई जिल्ला प्रशासन र सुरक्षाकर्मीको पहलमा सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए । सो घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले दिएको जानकारी अनुसार घटनामा संलग्न कसैलाई पनि तत्काल पक्राउ गरिएको थिएन ।


