२०८३ कार्तिक १६, सोमवार ०७:३५

बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनको विषयलाई लिएर भएको झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएपछि सो घटनाको छानबिन गर्नका लागि मधेश प्रदेश प्रहरीले छानबिन समिति गठन गरेको छ ।

सो समितिले आइतबारबाट नै काम थालिसकेको छ । यस घटनामा बिना आदेश प्रहरीले गोली चलाएको जिल्ला प्रशासन कार्यालय बाराको बुझाइ रहेको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक -एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको छ । सो समितिमा एसपी भुवनेश्वरप्रसाद साह र प्रहरी निरीक्षक जटाशंकर यादवसमेत रहेका छन् । रास्वपा र एमालेका कार्यकर्ताबीच अस्पताल उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच भएको विवादले उग्ररुप लिएपछि झडप भएको थियो ।

सो झडपका क्रममा प्रहरीको गोली लागेर स्थानीय युवक आदित्य पासवान गम्भीर घाइते भएका छन् । झडपमा ढुंगामुढा हुँदा पाँच प्रहरी र केही स्थानीय घाइते भएका छन् । प्रदर्शनकारीले कर्मचारीलगायतका १० वटा मोटरसाइकल जलाएका छन् । विवादबीच स्थानीयले नवनिर्मित अस्पतालको शिलालेख र कार्यक्रमस्थलको टेन्टसमेत तोडफोड गरेका थिए । बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले घटना रोक्न विभिन्न उपाय अपनाउनुपर्नेमा प्रहरीले बिना आदेश गोली नै चलाउनु दुःखद भएको बताए । उनले भने, ‘यो घटनाको छानबिन हुन्छ, घटनास्थलको अवस्था नियन्त्रणमा लिने क्रममा न सिडिओ, न एसपीसँग आदेश लिएको छ ? किन र कसको आदेशमा गोली चलायो भन्ने छानबिन हुनु जरुरी छ ।’ बारा प्रहरीले हवाई फायर गरेको बताए पनि पासवानको शरीरको पछाडिको भागमा गोली लागेपछि प्रजिअ अधिकारी आक्रोशित छन् ।

कार्यक्रमस्थलमा खटिएका इलाका प्रहरी कार्यालय प्रसौनीका इन्चार्ज प्रहरी निरीक्षक सुमन लामालाई जिम्मेवारीबाट हटाइ जिल्ला तानिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलमा घाइते स्थानीयले प्रनि लामाकै कारण झडपको घटनाले उग्ररूप लिएको आरोप लगाएका थिए । उनी २५ जनाको टोलीको कमान्ड गर्दै कार्यक्रमस्थलमा शुरुदेखि नै थिए ।

Comment

Related News

Latest News

Trending News