२०८३ कार्तिक १६, सोमवार ०७:४७

मधेसको राजनीतिमा नयाँ पुस्ताको नेतृत्व स्थापित गर्नुपर्ने बहसले पछिल्लो समय गति लिन थालेको छ । जेनजी आन्दोलनपछि देशभर राजनीतिक दलहरूभित्र नेतृत्व परिवर्तन र पुस्तान्तरणको आवाज उठिरहेका बेला मधेसमा पनि युवाहरू पुरानो नेतृत्वको विकल्प खोज्न सक्रिय भएका छन् ।

विशेषगरी मधेसवादी दलहरूको नेतृत्वमा नयाँ पुस्तालाई अवसर दिनुपर्ने मागसहित विभिन्न युवा समूह तथा सामाजिक संस्थाहरूले अभियान सञ्चालन गर्न थालेका छन् । यही क्रममा तराई मधेसका केही युवाहरूले ‘हुङ्कार मधेस’ गठन गरी राजनीतिक पुस्तान्तरणको पक्षमा आवाज उठाइरहेका छन् । त्यसैगरी शहीद सञ्जय चौधरी स्मृति प्रतिष्ठानले पनि मधेसको राजनीतिमा युवाको सहभागिता र नेतृत्व स्थापित गर्न ‘मधेस अबको बाटो’ अभियान सुरु गरेको छ । प्रतिष्ठानले मधेसका विभिन्न जिल्ला तथा काठमाडौंमा युवाहरूसँग छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ ।

अभियानकै क्रममा सामाजिक अभियन्ता सञ्जय यादवको अगुवाइमा प्रतिष्ठानले सोमबार कलैयामा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा मधेस आन्दोलनको इतिहास, त्यसबाट प्राप्त उपलब्धि, वर्तमान चुनौती र आगामी राजनीतिक तथा सामाजिक कार्यदिशाबारे व्यापक छलफल गरिएको थियो । सहभागीहरूले मधेसको बदलिँदो राजनीतिक परिस्थितिमा नयाँ पुस्ताको नेतृत्व अपरिहार्य बन्दै गएको धारणा राखेका थिए । कार्यक्रममा नागरिक अगुवा उमेशलाल दासले वर्तमान सरकारले मधेसका मुद्दा र एजेण्डालाई प्राथमिकतामा नराखे युवा पुस्ताले आफैँ नेतृत्व सम्हाल्नुपर्ने बताए ।

मधेसका समस्या समाधानका लागि अरूको भर पर्नुभन्दा युवाहरू आफ्नै बलमा अघि बढ्नुपर्ने उनको भनाइ थियो । जनता समाजवादी पार्टीबाट हालै विद्रोह गरेका मधेस प्रदेशका पूर्वसांसद विक्की यादवले मधेसको राजनीतिक भविष्य मधेसी जनताकै हातमा हुनुपर्ने धारणा व्यक्त गरे । उनले मधेसी युवाहरूले आ– आफ्नो क्षेत्रबाट नेतृत्वदायी भूमिका निर्वाह गर्दै राजनीतिक पुस्तान्तरणको प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिए । त्यस्तै, अधिवक्ता आनन्द गुप्ताले जेनजी आन्दोलनपछि नेपाली राजनीतिमा नयाँ परिस्थितिको सिर्जना भएको उल्लेख गर्दै पुराना राजनीतिक दल र तिनका नेतृत्वप्रति जनविश्वास कमजोर हुँदै गएको बताए ।

मधेसको राजनीतिलाई नयाँ सोच र दृष्टिकोणका साथ पुनर्जीवित गर्न युवाहरू संगठित भएर अघि बढ्नुपर्ने उनको सुझाव थियो । स्थानीय महिला नेतृ हिरमति कुशवाहाले मधेसमा स्वच्छ छवि, इमानदारिता र जनताप्रति उत्तरदायी नेतृत्वको खाँचो रहेको बताइन् । उनले राजनीतिक परिवर्तनसँगै नेतृत्वको कार्यशैलीमा पनि सुधार आउनुपर्ने आवश्यकता औँल्याइन् । पछिल्ला युवा अभियान र अन्तरक्रियाहरूले मधेसको राजनीतिमा नेतृत्व परिवर्तनको बहसलाई थप बलियो बनाउँदै लगेका छन् । अबको चुनौती युवाहरूको आवाजलाई अभियानमा मात्र सीमित नराखी राजनीतिक नेतृत्व र निर्णय प्रक्रियामा स्थापित गर्नु रहेको देखिन्छ ।

Comment

Related News

Latest News

Trending News